हलेसीको प्रवेशद्वार ढलान गरिँदै

हलेसीको प्रवेशद्वार ढलान गरिँदै

केन्द्रबिन्दु
84
Shares

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ । सङ्घीय सरकार, सहरी विकास मन्त्रालयको भ्याटसहित रु आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्नेगरी ढलान सुरु गरिएको हो ।

गत जेठ २९ गते सम्झौता गरिएको दुवै सडकको काम आगामी असार २९ गतेभित्र सम्पन्न गर्नेगरी सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।

दुवै सडकको पूर्वसहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिन् । आयोजनाको शिलान्यास गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेकी गुरुङले विश्वप्रसिद्ध त्रिधार्मिक एवं पर्यटकीयस्थल हलेसीलाई अब थप व्यवस्थित बनाउन ढलान थालिएको बताइन् । उनले आफू मन्त्री हुँदा गत आवमा उक्त दुवै सडक ढलानसम्बन्धी आयोजनाका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको जानकारी दिइन् ।

प्रतिनिधिसभाका सांसद सरस्वती बजिमयले यसवर्ष कार्यान्वयनमा ल्याइएको सडक ढलानको आयोजनाले हलेसीमा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । शिलान्यास कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष ललितकुमार राई, स्थानीय जनप्रतिनिधिलगयात व्यक्ति सहभागी थिए ।

एक वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको उक्त आयोजनाअन्तर्गत हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्धारसम्मको सडक ढलान तथा पार्किङस्थल निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राईले बताइन् । उनका अनुसार रक गार्डेन जाने करिब एक हजार दुई सय मिटर सडक ढलान पनि सोही बजेटबाट हुनेछ ।

आयोजना सम्पन्न भएपश्चात् हलेसी मन्दिर परिसरमा धार्मिक पर्यटनको आगमन वृद्धि हुनाका साथै स्थानीयको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको नगरप्रमुख राईले उल्लेख गरिन् । “त्रिधार्मिकस्थल हलेसीमा दैनिक देशविदेशबाट दर्शन र भ्रमण गर्न पर्यटक आउने गरेका छन् । मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा पर्यटकलाई असहज भइरहेको थियो”, उनले भनिन्, “हलेसी नजिक रहेको पर्यटकीयस्थल रक गार्डेन जाने सडक पनि सोही आयोजनाअन्तर्गत ढलान हुँदै छ ।”

मन्दिर प्रवेशद्वारको सडक ढलानसँगै त्यसमाथि आकर्षक ढुङ्गा विच्छ्याइने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इञ्जिनियर गणेश पाण्डेले बताए । प्रवेशद्धार नजिक निर्माण गरिने पार्किङस्थलमा तीन प्रकारका सवारीसाधन छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइने छ । धार्मिक तथा प्राकृतिक रुपमा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा यसअघि निर्माण गरिएका हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको इञ्जिनियर पाण्डेले जानकारी दिए ।

कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० को लागतमा निर्माण गरिएका दुई हवन कुण्ड गत साउन २१ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।

हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा यहाँ रहेकाले यस क्षेत्रको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै मन्दिर व्यवस्थापन समिति सक्रिय रूपमा लागिपरेको नगरप्रमुख राईले बताइन् ।

यहाँ आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाला) निर्माण गरिएको छ । निगमबाट प्राप्त रु दुई करोड तथा नगरपालिकाबाट आव २०७९८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरी अतिथिगृहको भौतिक संरचना निर्माण गरिएको हो ।

Logo