राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैनः अर्थमन्त्री

राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैनः अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरू देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रूपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका हुन् ।

उनले भने,‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दवाबमा छ । राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरू छन् । वास्तवमा मचाहिँ यो दवाब व्यक्तिगत रूपमा गहिरो रूपले हेरिरहेको छु । कति भुक्तानीहरू गर्न बाँकी छन् । यदि राजस्व परिचालन प्रभावकारी रूपमा गर्न सकेनौँ भने कसरी अगाडि बढ्न सकौँला भन्ने चिन्ता छ ।’

उनले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भए तापनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए । उनले भने,‘गत वर्षको तुलनामा केही प्रगति भएको भए तापनि त्यसलाई तुलना गरेर त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन ।’ अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरूलाई सेवाग्राहीहरूप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिए ।

उनले भने,‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलका साथ काम गर्नुहोस् । सबै सेवाग्राहीहरूमा मैत्रीपूणै व्यवहार गुर्नुहोस् । भन्सारका सदस्यहरूले दुरूपयोग गर्न सम्भव छैन भन्ने बुझ्नुहोस् ।’

Logo