बाइक रेस सञ्चालन, व्यवस्थापन तथा मार्सलिङ् सम्बन्धी तालिम सम्पन्न

बाइक रेस सञ्चालन, व्यवस्थापन तथा मार्सलिङ् सम्बन्धी तालिम सम्पन्न

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । काठमाडौँमा अन्तरराष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न भएको छ । गत भदौ २८ र २९ गते सञ्चालन भएको तालिममा अन्तरराष्ट्रिय मोटरसाइकल फेडेरेसनका प्रशिक्षक र ११० जनाको सहभागीको रहेको थियो ।

मोटो जीपी तथा अन्य अन्तरराष्ट्रिय मोटरसाइकल स्पोर्टमा अफिसियल भएका प्रशिक्षकले सहभागीलाई रेस सञ्चालन, व्यवस्थापन तथा मार्सलिङ्को तालिम दिएका थिए । यो तालिम नेपाल अटोमोवाइल्स एसोसिएसन र यसका मोटरसाइकल तथा टेनिङ्ग कमिसनको संयोजन, अन्तरराष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया सहयोग तथा माटोभर्स स्पोर्टस् क्लबको व्यवस्थापनमा भएको हो ।

तालिममा अन्तरराष्ट्रिय मोटरसाइकल फेडेरेसन एशियाका प्रशिक्षक सुजिकुमार, समिर सुनेजा तथा मन्दिप सिंहले इभेन्ट डिजाइन, खेल सञ्चालन, मार्सलिङ् तथा मार्सलको काम, कर्तव्य र अधिकार, सेफ्टी र कम्यूनिकेसन तथा रिपोर्टिङ जस्ता विषयमा सहजीकरण गरेका हुन् । यस्तै, संघका वरिष्ठ उपाध्यक्ष प्राडा बुलन्द थापाले मेडिकल र रेस्कूकमका साथै खेलमा डोपिङ्ग सम्बन्धी नियम, प्रचलन तथा टेस्टको प्रक्रियाको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । कार्यक्रममा आगामी वर्षका लागि रेसिङ्ग, टुरिङ्ग तथा ट्रेनिङ्ग लगायतका कार्य गर्ने आयोजकले प्रतिबद्धता जनाएको छ । नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले सञ्चालन गरेको तालिममा माटोभर्स स्पोर्टस् क्लबका अध्यक्ष आशिष रौनियारले स्वागत गरेका हुन् ।

तालिममा बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव दिपक लामा, अन्तरराष्ट्रिय मोटरसाइकल फेडेरेसन वल्र्ड काउन्सिल मेम्बर तथा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य चन्द्रवदना राई, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सदस्य रमेश सिवाकोटी, बागमती प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य सुनिता गौतम, नेपाल स्पोर्ट क्लाइम्बिङ्ग एसोसिएसनका अध्यक्ष रमेश पौड्याल लगायत सहभागी थिए ।

Logo