प्रतिगोटा लाखौंमा कारोबार हुने बोधिचित्तको खेतीमा किसानको आकर्षण बढ्दो, कुन कतिमा हुन्छ बिक्री ?

प्रतिगोटा लाखौंमा कारोबार हुने बोधिचित्तको खेतीमा किसानको आकर्षण बढ्दो, कुन कतिमा हुन्छ बिक्री ?


काठमाडौं । नेपालमा पछिल्लो समय बोधिचित्तको व्यवसायीक खेती फस्टाउँदै गएको छ । बोधिचित्तको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो र उच्च मूल्यका कारण किसानको आकर्षण यसतर्फ बढ्दै गएको हो ।

धार्मिक प्रयोजनमा प्रयोग हुने बोधिचित्त बुद्ध धर्मावलम्बीहरूले जप गर्दा यसको माला बनाई प्रयोग गर्ने गर्छन् । तर, अहिले यसको व्यापार र आम्दानी बढेसँगै देशका विभिन्न स्थानमा बोधिचित्तको खेती गर्ने लहर चलेको बोधिचित्तका व्यापारी प्रयाग गौतम बताउँछन् ।

अहिले बोधिचित्त काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा व्यापक रूपमा उत्पादन हुँदै आएको छ । बोधिचित्तको हब मानिने उक्त क्षेत्रमा मात्र नभई हाल भोजपुर, धनकुटा, इलाम, सिन्धुली आदि जिल्लामा उत्पादनको सुरु भइरहेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा बोधिचित्तको माग बढी रहेका छ, यसको माग र व्यवसायले चर्चा पाइराख्दा किसान यसको उत्पादनमा लाग्नु स्वाभाविक हो,’ उनले भने ।

जापान, चीन, कोरिया, थाइल्यान्ड, तिब्बत, भिएतनाम, मकाउ, ताइवान आदि देशहरूमा यसको माग उच्च छ । यद्यपि बोधिचित्त नेपालबाट सबै भन्दा बढी चीन र तिब्बतमा निर्यात हुँदै आएको छ ।

उक्त देशका व्यपारीहरु नेपालमै आएर बोधिचित्त खरिद गरी लैजाने गरेको गौतमले जानकारी दिए । धार्मिक प्रयोजनको लागि सबैभन्दा बढी बोधिचित्त नेपालबाट निर्यात हुने गर्छ । हेर्दा बयरकै एक प्रजाति जस्तो देखिने बोधिचित्त एक प्रकारको वनस्पति हो । जसको वैज्ञानिक नाम जिजिपस बुद्धेन्सिस पनि भनिन्छ ।

नेपालमा बोधिचित्तको आकर्षक मूल्य भएकाले चोरी भएका घटनाहरू बेलाबेलामा सञ्चारमाध्यमबाट बाहिरिरहेका हुन्छन् । जसले गर्दा यसको उत्पादनमा असुरक्षा पनि उत्तिकै हुने गरेको गौतम बताउँछन् ।

बोधिचित्त वर्षमा एकपटक फल्ने गर्छ । यसको उसिनेर धाेएर आवश्यक प्रशोधन गरेपछि मात्र बजारमा बिक्री वितरण हुन्छ । गुणस्तर बोधिचित्त चीन र दोस्रो अवस्थामा रहेको तिब्बत र तेस्रो स्तरको प्राय बोधिचित्त नेपालमै खपत हुने गौतमले जानकारी दिए ।

‘यो नेपालमा पाइने एक प्रकारको रूख हो, जसको फल, पात बुद्ध धर्मावलम्बीहरूले जप गर्दा प्रयोग गर्ने गर्छन्, बोधिचित्तको १०८ वटा दानालाई उनेर एउटा माला बनाइन्छ,’ उनले भने । जप र ध्यान गर्दा उच्चारण गरिने मन्त्रको गणनालाई सजिलो बनाउन बौद्ध भिक्षु, सन्यासी, ध्यानी र उपासकहरूले यसको प्रयोग गर्दछन् ।

विवाह, स्वागत, बिदाइ जस्ता शुभकार्यहरूमा समेत गहना र उपहारका रूपमा यसको माला, ब्रासलेट, लकेट आदि दिने प्रचलन छ । यस्तै, बोधिचित्तका व्यापारी उपेन्द्र पुरीले नेपालमा भएको उत्पादनले बजारको माग धान्न नसक्दा यसको मूल्य उच्च हुँदै गएको बताए । उनका अनुसार त्यसको गुणस्तर हेरेर र आकर्षक भएर बोधिचित्त महँगो मूल्यमा बिक्री हुन्छ ।

‘यसलाई डढुवा भन्ने रोगले असर पुर्याउँछ, उक्त रोग लागेको खण्डमा त्यसमा लाग्ने फल कालो हुँदै गएर झर्छ,’ उनले भने । बोधिचित्तको महत्व बुझी यसको प्रचार गर्न सके निर्यातका क्षेत्र पनि बढ्ने पुरी बताउँछन् ।

कस्तो मालालाई कतिसम्म पर्छ मूल्य ?

बोधिचित्तको गुणस्तर मापन गरी मूल्य निर्धारण गर्ने गरिन्छ । नेपालमा बोधिचित्त ७ देखि १२ एमएमसम्मको बिक्री हुँदै आएको छ । सानो भए वा मुख बढी भएका बोधिचित्तको मूल्य पनि बढी हुने व्यवसायीहरू बताउँछन् । यसको मुखलाई सुरे पनि भन्ने गरिन्छ ।

व्यापारी गौतमका अनुसार सबैभन्दा दुई सुरे बोधिचित्तको उत्पादन बढी हुन्छ । गुणस्तर बोधिचित्त गोटाको आधारमा पनि बिक्री हुँदै आएको छ । ‘यसमा व्यवसायी अनुसारको मूल्य निर्धारण हुनेगर्छ । यतिमै यसपटक यसको कारोबार हुन्छ भन्नेर भन्न सकिँदैन, बढी माग भयो भने आकर्षक मूल्यमा बोधिचित्तको बिक्री हुन्छ,’ उनले भने ।

दुई सुरे १२ एमएमको १५ हजार, ११ एमएममको बोधिचित्त प्रतिमाला ५० हजार, १० एमएमको १ लाख २० हजार, ९ एमएमको १ लाख ५० हजार र ८ एमएमको ८ लाख रुपैयाँ भन्दा बढी मूल्यसम्ममा कारोबार हुँदै आएको छ ।

यस्तै, प्रतिगोटा ३ सुरेको बोधिचित्तको १०० देखि ३०० रुपैयाँ र ४ सुरेको ५ सयदेखि १५ सयसम्म कारोबार हुन्छ । ५ सुरे ५ हजारदेखि २० हजार, ६ सुरे ६० हजारदेखि ३ लाख र ७ सुरे ४ लाखदेखि ६ लाख रुपैयाँसम्म प्रतिगोटा कारोबार भएको रेकर्ड रहेको गौतमले जानकारी दिए ।

यसैगरी ८ सुरेको ७ लाखसम्म र गुणस्तर ९ सुरे बोधिचित्तको प्रतिगोटा १३ लाख रुपैयाँसम्म कारोबार हुने गरेकाे व्यवसायी बताउँछन् । यसलाई व्यवस्थित तरिकाले उत्पादन गर्नसके किसानले मनग्य आम्दानी गर्न सक्ने र निर्यात हुने हुँदा अर्थतन्त्रमासमेत ठूलो योगदान पुग्ने पुरीको भनाइ छ ।

Logo