एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको समाचारबारे दियो स्पष्टोक्ति

एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको समाचारबारे दियो स्पष्टोक्ति

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको बताएको छ ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको बारे प्रकाशित समाचारमा सत्यता नभएको भन्दै स्पष्टोक्ति दिएको हो ।

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कन प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको जानकारी दिएको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु कम्पनीको लक्ष्य रहेको एनसेलले जनाएको छ ।

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ । ‘आफ्ना सेवाहरू विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा हामी विश्वस्त छौँ ।’ एनसेलले भनेको छ, ‘एक जिम्मेवार सेवा प्रदायकका रूपमा एनसेलले सधैँ पारदर्शिता र सबै सरोकारवालामाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ ।’

यस्तै, विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरू प्रदान गर्ने एनसेलले बताएको छ । कम्पनीले आफ्ना निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहक र सरोकारवालाहरूसँग सम्बन्धित हुने भएकोले कम्पनीसँग सम्बन्धित समाचारहरू प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक धारणा बुझिदिन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गर्न लागेको भन्दै समाचारहरू सार्वजनिक भएका थिए ।

Logo