दशैंमा गाडी किन्दा कुन कम्पनीले के दिँदैछन् छुट, कस्ता ल्याए उपहारका योजना ?

दशैंमा गाडी किन्दा कुन कम्पनीले के दिँदैछन् छुट, कस्ता ल्याए उपहारका योजना ?

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । दशैं नजिकिँदै गर्दा नयाँ गाडी किन्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीहरूले आकर्षक अफरहरू ल्याएका छन् । चाडपर्वको अवसरमा विभिन्न ब्रान्डको गाडीका वितरकहरूले विशेष योजना ल्याएका हुन् ।

दशैंमा सवारी किन्ने सोच राख्नेहरूको लागि उपयुक्त अवसर रूपमा हेरिने यी अफर कम्पनी अनुसारको गाडीको खरिदमा फरक–फरक छुटको व्यवस्था गरिएको छ । एकपछि अर्को कम्पनीले धमाधम चाडपर्व अफर सार्वजनिक गर्ने क्रम जारी छँदैछ ।

ग्राहकहरूले पनि चाडपर्वमा सवारी बढी किन्ने विषयलाई मध्यनजर गर्दै कम्पनीहरूले धमकेदार अफरहरू ल्याएको हुन् । कम्पनीहरूले उपभोक्तालाई सहजता हुने किसिमका नगद छुटसहित उपहारका योजनालाई प्राथमिकता दिएका छन् ।

कम्पनीहरूले गाडीको खरिदमा नगद छुट, बीमा सुविधादेखि एक्सचेन्जसम्मका अफर ल्याएका छन् । ग्राहकहरूलाई आकर्षित गर्नका लागि ईभी तथा इन्धनमा आधारित गाडी बिक्री गर्ने कम्पनीहरूले यस्ता किसिमका स्कीमहरू चाडपर्वमा ल्याउने गरेको पाइन्छ ।

कुन कम्पनीका कस्तो छन् अफर ?

होण्डका कार किन्दा बीमाको सुविधासहित ५ लाख छुट

होण्डाले यसपटको चाडपर्वलाई लक्षित गर्दै ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ सार्वजनिक गरेको छ । नेपालमा होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ल्याएको यो अफरअन्तर्गत रहेर गाडी खरिद गर्दा धेरै छुट ग्राहकले लिन सक्छन् ।

कम्पनीका अनुसार दशैंमा होण्डाका कुनै पनि मोडलका गाडीको खरिदमा ५ लाखसम्म नगद छुट पाइने छ । यसका साथै कम्पनीले २ वर्षका लागि गाडीको बीमा र ५ वर्षमा १० वटा सर्भिसिङको सुविधा पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले बताएको छ ।

कम्पनीले ग्राहकहरूलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘फ्री एक्सेसरिज’ र ‘स्पट एक्सचेन्ज’ को पनि सुविधा उपलब्ध गराउनेछ । यस्तै, होण्डाले आफ्ना ग्राहकहरूलाई ‘रोड साइड असिस्टेन्स’ को सुविधा दिनुका साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ ।

निसानको नयाँ गाडी किन्दा १५ लाखसम्म छुट

नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले ‘निसान फेस्टिभ डिल’ योजना सार्वजनिक गरेको छ । चाडपर्व लक्षित गर्दै कम्पनीले ल्याएको यो अफरअन्तर्गत निसान गाडीको खरिदमा विभिन्न सुविधा उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेल मोडलका गाडी खरिद गर्ने ग्राहकहरूले विशेष छुट पाउनेछन् । निसान गाडी बुकिङ गर्ने ग्राहकलाई १ वर्षको गाडी बीमा, ३ वर्षको सडक कर र ३ वर्षको सर्भिसिङ निःशुल्क उपलब्ध गराइने कम्पनीले बताएको छ ।

यसैगरी गाडीको खरिदमा ३ वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिलका सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने व्यवस्था पनि कम्पनीले ल्याएको हो । यो योजना चाडपर्व अवधिभरि लागू हुने कम्पनीको भनाइ छ ।

दशैंमा हुन्डाईका गाडी खरिदमा १० लाख छुट

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैं–तिहार लक्षित गर्दै ‘फेस्टिभ डिलाइट–२०८१’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा १० लाखसम्म नगद छुट पाइने व्यवस्था कम्पनीले गरेको हो ।

यसका साथै कम्पनीले स्क्र्याच कार्डमार्फत थप १ लाखसम्मको नगद छुटका र १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने बताएको छ ।

एक भाग्यशाली ग्राहकले मेड इन नेपाली हुन्डाई भेन्यू लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ल्याएको यसै अफरमा हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

सिट्रोनको सी–३ र ईसी–३ अफर

सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ ईभी गाडी खरिद गर्दा आकर्षक अफर कम्पनीले ल्याएको छ । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले गाडीको खरिदमा बीमा सुविधादेखि निःशुल्क पेट्रोल व्यवस्थासहितको अफर ल्याएको हो ।

यो अफरअन्तर्गत सिट्रोनोट सी–३ खरिद गर्दा ४ वर्षका लागि निःशुल्क पेट्रोल र निःशुल्क मर्मत सम्भार हुने सुविधा कम्पनीले अफरमा समावेश गरेको छ । यस्तै यो गाडीमा कम्पनीले १ वर्षका लागि निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करको सुविधा पाउनेछन् ।

सिट्रोनको गाडी खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपेमेन्ट गरे पुग्ने कम्पनीको भनाइ छ । यसैगरी सिट्रोन ईसी–३ साइनको खरिदमा विशेष नगद छुट, निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करलगायत सुविधा दिइएको छ ।

सुजुकीको दशैं अफरः चार लाखसम्म छुट

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं–तिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजनाको घोषणा गरेको छ । कम्पनीले दशैं–तिहारको अवसर पारेर ‘सुजुकी पर्वोत्सव अफर’ नामक योजना सार्वजनिक गरेको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिज पाउन सक्ने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा पनि लागू हुने र सुजुकीका विभिन्न मोडेलका कारहरूबमोजिम फरकफरक किसिमका छुटहरू लागू हुने कम्पनीले बताएको छ ।

टाटा मोटर्सको टुर प्याकेजदेखि उपहारसम्म

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दशैं लक्षित आकर्षक योजनाको घोषणा गरेको छ । सार्वजनिक उक्त योजनाअन्तर्गत रहेर टाटाको प्रत्येक कमर्शियल गाडी खरिदकर्ताले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक लिन सक्नेछन् ।

योजनामा होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रीज, एसी, टीभी, माइक्रो वेभ छन् । ग्याजेटअन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाचको समावेश गरिएको छ । यसै गरी टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई र युरोप जान सकिने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै ग्राहकहरूले यो चाडपर्वको अवसरमा गाडी बुकिङसमेत स्मार्ट वाच वा इयरपड प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । सिप्रदीका अनुसार टाटाका जुनसुकै मोडलका गाडीको खरिदमा उक्त अफर लागू हुनेछ । आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दशैं लक्षित यो योजना असोज १४ गतेसम्म लागू हुनेछ ।

दशैंमा वुलिङका गाडी किन्दा विशेष छुट

नेपालका लागि वुलिङका गाडीको बिक्रेता पारामाउन्ट मोटर्सले दशैंलाई लक्षित गर्दै आफ्नो आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वमा नयाँ गाडी खरिद गर्ने ग्राहकहरूलाई मध्यनजर गर्दै नगद छुटसहितका विशेष अफर ल्याएको हो ।

कम्पनीका अनुसार दशैंमा वुलिङ विङ्गो किन्ने ग्राहकले २ लाख नगद छुट पाउनेछन् । यसअघि ३१ लाख ९९ हजारमा विक्री गर्दै आएको गाडी अफर अवधिभरका लागि २९ लाख ९९ हजारमा बिक्री हुने कम्पनीले बताएको छ ।

Logo