पठाओद्वारा किराना, खाजाघर र गेम्स सुविधा थप, बिक्रेतालाई पहिलो ६ महिनासम्म निःशुल्क सेवा

पठाओद्वारा किराना, खाजाघर र गेम्स सुविधा थप, बिक्रेतालाई पहिलो ६ महिनासम्म निःशुल्क सेवा

केन्द्रबिन्दु
392
Shares

काठमाडौँ । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा तीनवटा नयाँ सेवा थप गरेको छ ।

पठाओले काठमाडौँ उपत्यकामा मात्र उपलब्ध हुने गरी किराना, खाजाघर र गेम्स सुविधा थप गरेको हो ।

ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यातले जानकारी दिए । हाल राइड सेयरका साथै फुड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउने उनको भनाइ छ । पठाओले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ ।

कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेको छ । अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुआत गर्न लागिएको छ । कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ । पठाओ खाजाघरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ।

बिक्रेताहरूले पठाओ किराना र पठाओ खाजाघरमा आबद्ध हुन अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ भने बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ ।

‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत हाल पठाओले असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको छ ।

Logo