एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ ।

यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी स्थानीय महिलाहरूको सहभागिता थियो । त्यसमध्ये ९० जनाभन्दा बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका छन् ।

नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनको आयोजनामा शिविर सञ्चालन भएको हो । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पहिलो स्थानमा पर्दछ । सन् २०२२ मा मात्रै २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने यस रोगका कारण १ हजार ३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

शिविरमा आएकी बिर्तामोड नगरपालिका वडा नं. ५ की शोभा ठाकुरले भनिन्, “यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका लागि शिविर बस्दै छ भनेर थाहा पाएर साथीहरू पनि लिएर आएँ । आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा मेरो सासु ब्रेस्ट क्यान्सर भएको तेस्रो स्टेजमा मात्र थाहा भएकोले बित्नुभयो । आफ्नो स्वास्थ्य छ त छोराछोरी संसार सबै हुन्छ ।”

त्यसैगरी बेलबारी–५, मोरङबाट शिविरमा आएकी टीका गौतम कोइरालाले भनिन्, “यो जीवन लिने डर लाग्दो रोग रहेछ । यसलाई समयमा नै उपचार गर्‍यो भने बाँच्न सकिन्छ त्यसैले मौका पाएकीले यहाँ शिविरमा आएकी हुँ । सचेत हुन पाइयो भने यो रोगबाट मुक्त हुन पाइन्छ, त्यसैले यो स्क्रिनिङ टेस्ट एकदमै जरुरी छ ।”

यो शिविरले महिलाहरूलाई स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरू लिनुको महत्त्वलाई उजागर गर्दै पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामका लागि नियमित स्क्रिनिङ र सम्बन्धित परीक्षणहरू गर्न प्रोत्साहन गरेको छ । एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजारभन्दा बढी महिलाहरूको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ ।

“हाम्रो यो स्क्रिनिङ पहुँच नभएकाहरूसम्म पुग्ने लक्ष्यमा आधारित छ । अधिकांश मृत्यु पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न मध्यम आय भएका महिलाहरूमा भएका छन् । पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाहरूको मृत्युको प्रमुख कारण रहेको तथ्याङ्कले देखाउँछ । ८० प्रतिशतभन्दा बढी पाठेघरको मुखको क्यान्सरका रोगीहरूले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन् । कोशी प्रदेशमा सुरु भएको यस पाइलट प्रोजेक्टको सफलतापछि आगामी दिनमा यस किसिमका पहलहरू अन्य प्रदेशमा पनि विस्तार गर्ने छौं” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवका अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो र फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू गर्ने योजना बनाएको छ । एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सामाजिक परियोजनाहरूको कार्यन्वयनका लागि रु २ अर्बभन्दा बढी योगदान गरिसकेको छ ।

Logo