खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

केन्द्रबिन्दु
196
Shares

मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् ।

स्याउ उत्पादनका लागि निकै सुहाउँदो हावापानी भएको जिल्लामा पछिल्लो समयमा गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि मुगुका कृषकहरू खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् ।

उत्पादन गरेका ठूला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरू मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइबाट पोष्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम पाएपछि खेर जाने स्याउबाट विभिन्न प्रकारका वस्तुहरू बनाउन थालेका हुन् ।

लामो समयदेखि स्याउ खेती गरी राम्रो ठूला दाना भएको स्याउ बगैँचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरू केही बगैँचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई–भैसीलाई खुुवाएर खेर जाने गरेको स्थानीय जसबहादुर बुढाले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेर जाने स्याउ लगायत अन्य फलफूलहरुको सदुपयोग गर्नका लागि पोष्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम दिएपछि अहिले खेर जाने स्याउ तथा अन्य फलफूलबाट जान, जेली, साइटर, जुस, चाना, भुजा बनाएर सिप सिकेर यो वर्ष धेरै खेर गएका स्याउ तथा अन्य फलफूलहरू राम्रो आम्दानीको स्रोत बन्नुका साथै धेरै जनाले रोजगारी पाएको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ का स्याउ कृषक बुढाले बताए ।

मुगुमा विगत लामो समयदेखि कृषकहरूले स्याउ खेती गर्दै आइरहेको भए पनि पछिल्लो समयमा सडक सञ्जालको राम्रो पहुँच पुग्दा व्यापारीहरू कृषकको बगैँचामा आएर राम्रो एबी ग्रेड स्याउ खरिद गरी लिनेगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख तेज विक्रम मल्लले बताए ।

सी, डी ग्रेडका स्याउ बिक्री नभएर खेर जाने कृषकको व्यापक गुनासो अनुसार आम्दानीको स्रोत बनाउनका लागि कार्यालयको वार्षिक कार्यक्रम अनुसार पोष्ट हार्भेष्ट तथा फलफूल प्रशोधनले तालिम दिएपछि कृषकहरूको थप आम्दानी बढ्नुका साथै यो वर्ष १८ जना कृषकहरूलाई जाम, जुस, जेली, साइटर र चाना बनाउने सीप सिकाइएको छ ।

Logo