साल्ट ट्रेडिङको सहकार्यमा कालीमाटी र जडिबुटीमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालनमा

साल्ट ट्रेडिङको सहकार्यमा कालीमाटी र जडिबुटीमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालनमा

केन्द्रबिन्दु
322
Shares

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दशैँ, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।

सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रूपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको हो ।

पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए । उनले अहिले साल्ट ट्रेडिङसँग हतारमा सहकार्य गरिएकाले धेरै ठाउँमा पसल सञ्चालन गर्न नसकिएको बताए । आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

नेपाली उत्पादनलाई सर्वसुलभ बनाउन सङ्घ लागिपरेको उनी बताउँछन् । उनले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन जुत्ता उत्पादक सङ्घले पहल गरिरहेको बताए । जुत्ता उत्पादक सङ्ले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पुर्‍याउन प्रयत्न गरिरहेको उनको भनाइ छ । उनका अनुसार नेपाली जुत्ताको सुपथ पसल सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत सकारात्मक भूमिका रहेको छ ।

सङ्घका अध्यक्ष न्यौपानेले भने, “नेपाली जुत्ताको बजार प्रवर्द्धनमा उद्योगमन्त्री दामोदर भण्डारीले पनि हामीलाई राम्रो साथ दिनुभएको छ, उहाँले नेपाली जुत्ता उत्पादकलाई बढीभन्दा बढी जत्ताको बजार बढाउन उत्साह दिइरहनुभएको छ । मन्त्रीज्यूले हामीलाई नेपाली जुत्ताको विदेशी बजारमा बजारीकरणलगायत अन्य व्यापार मेला तथा महोत्सवमा उद्योग मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

सङ्घका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले सरकारको प्रतिष्ठित संस्थासँग जोडिएर उपभोक्तालाई विश्वास दिलाउनु जुत्ता उत्पादक सङ्घको प्रमुख लक्ष्य रहेको बताए । उनले नेपाली उत्पादित वस्तुबारे आम उपभोक्तालाई जानकारी गराउन पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए ।

यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले सरकार मातहतमा सञ्चालन गरिने सुपथ मूल्य पसलमा आगामी दिनमा देशैभर नेपाली जुत्ताका सुपथ मूल्य पसल पनि सञ्चालन गरिने बताए । उनले सकभर सङ्घले देशैभर वर्षभर नै सञ्चालन गर्ने गरेर सबै नेपाली ब्राण्डमा जुत्ता एकै स्थानमा राखेर बजार सञ्चालनको प्रयास गर्ने बताए ।

Logo