नेपालको जलविद्युत्मा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

नेपालको जलविद्युत्मा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानी गर्न आग्रह गरेका छन् ।

क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

कार्कीले नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेको, विद्युत् खरिद विक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरू थप १० हजार मेगावाट क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेको बताए ।

उनले अगाडि भने, ‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत् उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ । यसका लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानेडिएन लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हाँसिल गर्न आग्रह गर्दछु ।’

नेपालमा विद्युत उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए । अहिले भारतमा १ हजार मेगावाट विद्युत् निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातका लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए । ४० मेगावाट विद्युत् थोरै लागे पनि बंगलादेशको विद्युत् माग पूरा गर्न सन् २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए ।

दुई ठूला उदयीमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युत्को माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालको जलविद्युत्मा गरिएको लगानीले राम्रो प्रतिफल दिने भएकाले नेपालमा लगानी गर्न क्यानेडिएन लगानीकर्तालाई कार्कीले आग्रह गरे ।

Logo