‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ आयाेजना हुँदै

‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ आयाेजना हुँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ललितपुरको पाटनमा ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ सञ्चालन हुने भएको छ ।

धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ यही असोज ११ देखि १३ गतेसम्म एक्स्पो सञ्चालन हुने भएको हो ।

एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवद्र्धनात्मक लगायत गरी २५ वटा स्टल रहनेछन् । ती स्टलहरुका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिहरुको प्रवद्र्धन हुने भएको छ ।

स्थानीय कालिगढ, रत्न तथा आभूषण उद्यमी तथा व्यापारिक क्षेत्रसमेत एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा एक्स्पोको मुख्य आकर्षण रहने गरी र्याम्प वाल्क हुने भएको छ ।

अहिले युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रनवे (र्याम्प वाल्क) एक्स्पोको मुख्य आकर्षण बन्नेछ । एक्स्पोको अन्तिम साँझमा र्याम्प वाल्कमार्फत समापन कार्यक्रम हुने रोटरी क्लब अफ पाटन हेरिटेज अध्यक्ष सज्जु व्यञ्जनकार बताउँछन् । सो अवसरमा पनि विभिन्न रत्नादी भएको परम्परागत आभूषणको प्रदर्शनी, पोशाक पनि नेपाली मौलिकता तथा परम्परागत शैलीका हुनेछन्, नेपाली मौलिक संगीत तथा नृत्य लगायत मनोरन्जनात्मक प्रस्तुतीहरु रहने उनले बताए ।

पछिल्लो समय कोभिड महामारी र त्यसपछि आर्थिक क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । व्यवसायीहरु पनि पलायनको अवस्थामा छन् । यस्तो विषम परिस्थितिमा आयोजित एक्स्पोको माध्यमबाट आर्थिक गतिविधि बृद्धि हुने अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने उनले विश्वास लिएका छन् ।

Logo