बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैँ महोत्सव आयोजना हुँदै

बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैँ महोत्सव आयोजना हुँदै

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । “स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ ।

यसअघि असोज १३ गते आइतबार तय भएको मेला प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्को कारणले गर्दा १६ गते बुधबारबाट गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रूपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको हो । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहने उनले बताए । लघु, घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उनले जानकारी दिए ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्मकुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरूको उपभोगमा वृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमि ल्याउने उद्देश्य रहेको बताइन् ।

काठमाडौँका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंसँगको सहकार्य र सहआयोजनामा गरिन लागेको यो दोस्रो जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी घरेलु उद्यमी मेला तथा दशैं महोत्सवमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरुलाई अवलोकन गराइ नेपाली उत्पादन तथा वस्तुहरुको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरुङले देशको व्यापारघाटा न्यूनीकरण गर्नुका साथै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणमा व्यापार मेलाको उल्लेख्य भूमिका रहेको बताइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्वअध्यक्ष तथा संघका सल्लाहकार आङदेण्डी शेर्पाले मेलाको सफलताको कामना गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुको प्रवद्र्धन गर्न यस्ता मेलाहरुको आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा घरेलु तथा साना उद्योग संघ काठमाडौंका उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौंका कोषाध्यक्ष सन्तोष कार्की, संघ अन्तरगत महिला उद्यमी समितिकी अध्यक्ष उषा दाहाल, उपाध्यक्ष लक्ष्मी नेपाल, संघ महिला उद्यमी समितिकी सदस्य अञ्जु बस्नेत, महासंघ केन्द्रीय सदस्य सुशील मोक्तान र इन्द्रबहादुर महर्जनलगायतको सहभागिता रहेको थियो ।

Logo