सडक होइन सरकारसँग आक्रोशित छन् टिकट लिन लाइनमा बसेका यात्रु

सडक होइन सरकारसँग आक्रोशित छन् टिकट लिन लाइनमा बसेका यात्रु

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । दशैं नजिकिएसँगै उपत्यका छाड्नेहरुको संख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तब्यसम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन् । बिहीबारदेखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरु अन्योलमा छन् ।

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड भने पातलिएको छैन । चाँडै सडकको अवरोध हट्ला र सहजै गाउँ फर्किने अपेक्षा लिएकाहरु काउन्टर अगाडि लाइन लागेका छन् ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको विर्तामोड, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड छ ।
सरकारले अनलाइनमार्फत टिकट बुक गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि लाइनमा बसेर टिकट काटीरहेका भेटिन्छन् ।

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै १० लाख यात्रुले टिकट बुकिङ गरिसकेको व्यवसायीहरुको भनाइ छ ।

काठमाडौंको गंगबु बसपार्कमा टिकटको लागि समस्या नभए पनि मौसम प्रतिकुलका कारण सडक अवरुद्द हुँदा यात्रुहरु मर्कामा परेका छन् । लगातार तीन दिन अविरल वर्षा काठमाडौं जोड्ने सडकहरु अवरुद्ध हुँदा पूर्व र पश्चिम जाने यात्रुहरु बढी मर्कामा परेका हुन् । तर अविरल बर्षा सकिएको पछिल्लो तीनदिनसम्म गाडी गुड्न नसक्दा यात्रुहरुमा अक्रोशित देखिन्छन् । सडक सुचारु गर्न सरकारले पर्याप्त काम नगरेकोप्रति यात्रुहरु आक्रोशित बनेका हुन् ।

यात्रुहरुले फरक फरक गुनासो गरिरहेका छन् । कतिपय यात्रु दशैंको लागि भनेर विदेशबाट नेपाल आएका छन् । काठमाडौंबाट गाउँ जान नपाएर चिन्तामा रहेका उनी सरकारप्रति बढी रुष्ट छन् । नेपालको सडक र सरकारको कार्यशैली देखेर आफू दिक्क भएको नयाँ बसपार्कमा भेटिएका बिष्णु पराजुलीको भनाइ छ ।

‘सडक अवरुद्द छ । विदेशबाट आएको तीन दिन भइसक्यो । सडक अहिलेसम्म खुल्न सकिरहेको छैन । धेरैजना काठमाडौंमै अड्किएर बस्दा दिक्क भइसक्यो, खर्च बढिरहेको छ । यातायात व्यवसायी महासंघले पनि गाडी पठाउन सकेको भए सजिलो हुन्थ्यो,’ पराजुलीले भने ।

पराजुलीलाई जस्तै अन्य यात्रुहरुलाई पनि दशैंको समयमा घर पुग्न उत्तिकै हतार छ । तर यस्तै पीडा सुनाउँदै नयाँ बसपार्क क्षेत्रमै भेटिएका यात्रु रमेश क्षेत्रीले भने,‘उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका प्रकाशमान सिंह काठमाडौंकै जन प्रतिनिधि हुन । तर बसपार्कमा सयौं मानिसहरु मान्छे भोकै छन् । कतिले पानी समेत पिउन पैसा नभएको अवस्था छ तर सिंह जस्ता जनप्रतिनिधिहरुको कुनै सहयोग र सद्भाव छैन ।’

उनले भने, ‘म विदेशबाट आएको हुँ । मसँग त पैसा होला तर तीन दिनसम्म टिकटको लागि बसपार्कमै भोकै बसेका धेरै जना छन् । गाडी होल्ड हुँदा यहीँ काठमाडौं क्षेत्रका जनप्रतिनिधिहरुले यात्रुहरुप्रति ध्यान दिनुपर्ने होइन र ?’

क्षेत्रीले काठमाडौं महानगरका प्रमुख बालेन शाहले पनि बसपार्कतिर आफ्नो ध्यान लगाउन आग्रह गरे । उनले सडक खुलाउने प्रयासमा सरकारले नेपाल प्रहरी, सेना र शसस्त्रहरुलाई दुःख दिइरहेको तर आवश्यक बजेट एवम इक्युमेन्टहरु उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरे ।

बस चालक राकेश भट्टले पनि चार दिनसम्म आफ्नो गाडी उपत्यका भन्दा बाहिर जान नसक्दा खर्च धान्नै मुस्किल पर्ने बताए । उनले विपतमा सरकारले सहयोग नगर्ने हो भने यस्तो सरकारको आवश्यक नभएको बताए । उनले भने, ‘हप्ता दिन हुनलाग्यो यता बसेको, धेरै आपत आइलागिसक्यो । विपतको समयमा प्रधानमन्त्री अमेरिका घुम्न मिल्छ ? जनताको केही चासो गर्दैनन् । सरकारलाई पहिले नै जानकारी भइसकेको थियो बाढी र पहिरोमा परेर मान्छेहरु अलपत्र छन् भनेर ।तर सरकार कानमा तेल हालेर सुत्यो । फसेका यात्रुहरुलाई उद्दार गर्न कुनै सरकारी निकाय पुगेन । मरिसकेपछि लासमात्र गन्नका लागि सरकार उद्दारको नाटक गर्न दुर्घटनाग्रस्त क्षेत्रमा पुग्यो ।’

साथै उनले गरिवहरुको लागि सरकारले केही गर्न नसकेको बताए । जनताको समस्यामा नपुग्ने जनप्रतिनिधिहरु बस किन राती चलाएको भनेर उल्टै बस व्यवसायीहरुलाई थर्काएको उनले गुनासो पोखे ।

उनले राती बस नचलाउने सरकारको निर्णय राम्रो भएपनि पहलकदमी नगरी सञ्चालनमा रोक लगाउनु उचित नहुने बताए । उनले दुईवटा पार्टी मिलेर सरकार बनाउने तर पहलकदमी गरेर निर्णय लिन नसक्ने सरकार कसैलाई नचाहेको बताए ।

अहिलेको सरकारप्रति सबैको गुनासो त छँदैछ तर युवापुस्ताले सबैभन्दा बढी गुनासो गरिरहेको अवस्था छ ।

बसपार्कमा भेटिएका यात्रु अनिल गुप्ताले सरकारले पहल गरेको भए धेरै दिनसम्म यात्रु यसरी अत्रपत्र नपर्ने बताए । उनले सरकारले कुनै हिसाबबाट पनि पहल गरेको भए यात्रुहरु आफ्नो आफ्नो घर पुगिसक्ने बताए । सरकारले घुम्नमा एक करोड खर्च गर्नसक्ने तर सडक सञ्जालको लागि एउटा डोजर किन्न नसक्नु लाजमर्दो भएको उनले बताए । सरकारसँग गुनासो भएपनि यात्रुहरुलाई टिकटमा समस्या नभएको उनीहरुको भनाइ छ ।

तर पहाडी जिल्लाहरुमा जानको लागि एउटा मात्र रुट भएकाले हुम्ला र दार्चुला जाने यात्रुहरु थोरै समस्यामा परेको तुलसीपुर यातायात प्राइभेट लिमिटडका काठमाडौं साखा प्रमुख रमेश गौतमले बताए । उनले यात्रुहरुले दुःख नपाउन भन्नकै लागि मोबाइल तथा अनलाइनबाट टिकट खुला गरिएको समेत बताए ।

उनले बसमा तोकिएको भाडा भन्दा कसैले बढी लिएको पाइए कारवाही गरिने बताए । उनले गाडी सडक अवरुद्द हुँदा कुनै यात्रु विशेष कारणले जान सक्ने अवस्था नभए पैसा समेत फिर्ता गरिने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर सडकको अवस्था ठिक नभएसम्म गाडी गुडाउन नसकिने बताउँछन् । बुकिङ खुलाएको पहिलो दिन यात्रुहरुको भीड अत्याधिक भएपनि हाल भीड घट्दै गएको बताउँछन् । ‘बाटो नखुलिकन बुकिङ मात्र गरेर भएन । जब राजमार्ग सुचारु हुन आउँछ त्यसपछि टिकटको विषय सहजीकरण गर्दै जाने छौं,’ उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग घटस्थापनासम्म सडकलाई ठिक बनाउने र त्यसपछि धमाधम यात्रुलाई सहज सेवा दिने सहमति भएको भएपनि अब त्यो सं‌भव नभएको उनले बताए । ‘पहिरो खुलाएपछि पनि ढुक्कले यात्रा गरिहाल्नुपर्ने अवस्था छैन । अझै घाम लागेपछि सुक्खा पहिरो त जान्छ जान्छ । तर, सरकारको संयन्त्र र सडकमा काम गरिरहेकाहरुसँग भएको स्रोत र साधनलाई पुरै परिचालन हुने गरेर रातदिन नभनी दशैंभरी परिचालन गर्नुपर्ने स्थिति छ,’ अध्यक्ष स्वाँरले भने ।

Logo