निजी क्षेत्र अगाडि बढ्यो भने हरेक क्षेत्रमा नयाँ लगानी थपिन्छः आकाश गोल्छा [भिडियाेसहित]

निजी क्षेत्र अगाडि बढ्यो भने हरेक क्षेत्रमा नयाँ लगानी थपिन्छः आकाश गोल्छा [भिडियाेसहित]

केन्द्रबिन्दु
42
Shares

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष हुन्, आकाश गोल्छा । अटोमोबाइल क्षेत्रमा दुई दशक लामो समयदेखि सक्रिय गोल्छा फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक पनि हुन् । विश्वमा इलेक्ट्रिक भेहिकल (ईभी) गाडीको माग र बिक्रीमा उल्लेखनीय वृद्धि भइराख्दा नेपाली अटोमोबाइल कम्पनीहरूले पनि ईभी गाडीमा लगानी र आयात बढाइरहेका छन् । यसैबीचमा फोर्डले पनि ईभी गाडीको उत्पादनको तयारी थालिसकेको छ ।

उत्पादन पश्चात् फोर्डको उक्त ईभी गाडी सन् २०२५ सम्ममा नेपाल आइपुग्ने गोल्छा बताउँछन् । उनै वरिष्ठ उपाध्यक्ष गोल्छासँग अटो क्षेत्रलाई अगाडि बढाउन व्यवसायी आफैले गर्नुपर्ने काम, सरकारले अटो क्षेत्रको लागि तर्जुमा गर्नुपर्ने नीति नियम, नेपाली अटो बजारको व्यवसायीक अवस्था र उनी सम्बद्ध कम्पनीका योजना लगायतका विषयसँग जोडिएर केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं अटो क्षेत्रमा लागेर काम गर्नुभएको दुई दशक बढी भइसकेको छ, लामो समयको यो व्यवसायीक दौरानको नजरबाट हेर्दा तपाईंले नेपाली अटो मोबाइल क्षेत्रको ग्रोथ कस्तो देख्नुहुन्छ ?

-हाम्रो परिवार ५ दश भन्दा पहिलादेखि अटोमोबाइल सेक्टरमा लागेर काम गरिरहेको छ । म आफै यो क्षेत्रसँग जोडिएर काम गर्न थालेको दुई दशक भन्दा बढी हुन थाल्यो । त्यो समयदेखि अहिलेको समयसम्म हेर्दा अटो मोबाइलको क्षेत्रको ग्रोथले निकै फड्को मारेको महसुस गर्न सकिन्छ । समय क्रमसँगै अटोमा आएको बदलाबले आज सबैको पहुँचा यातायात पुग्दै गएको देखिन्छ । एक समयमा शोरुममा पनि गाडी नराखी पार्किङबाटै ग्राहकले गाडी लैजान्थे । त्यसपछि सोही अनुसारको सर्भिसिङ सेन्टर र शोरुमहरु सञ्चालनमा आउन थाल्यो ।

ग्राहकले ईभी किन्न चाहेर नै ईभीको बिक्री बढेको हो ।

र, बिस्तारै शोरुममा गएर गाडी किन्ने कल्चरको विकास हुँदै अहिले अवस्थासम्म आइपुग्दा अटोमोबाइल बजार प्रतिस्पर्धी बनिसकेको छ । बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा परिवर्तन सोही अनुसार हुँदै गएको छ । पहिला जापानिज गाडी मात्र बिक्री हुन्थे भने कोरियन हुँदै इन्डियन, चाइनिज लगायतका मुलुकबाट गाडी आयात हुन थाले । त्यो हुँदै अहिले बजारमा विभिन्न ब्रान्डका गाडी उपलब्ध भइसकेको छन् । बजार ईभीमय हुँदै गर्दाको अवस्थामा अटो सेक्टरमा ठूलै परिवर्तनको महसुस गर्न सकिन्छ ।

गाडीसँगै ग्राहकमा गाडी छनोटका विषयलाई लिएर कस्तो परिवर्तन आए ?

-ग्राहकमा बदलाब आएरै गाडीमा परिवर्तन आएको हो । ग्राहकले ईभी किन्न चाहेर नै ईभीको बिक्री बढेको हो । ईभी बढी आएर बढी बिक्री भएको हाेइन । ग्राहकहरूले रुचाएरै ईभी गाडीको बिक्री बढी भएको हो । पहिला सेडानका गाडी बिक्थ्यो भने त्यसपछि एसयूभी बिक्री हुन थाल्यो ।

ह्याचब्याक हुँदै ईभीसम्म आइपुग्दा ग्राहकले पनि समय क्रमसँगै मोडिएको छन् । प्रविधिको जमाना छ । विदेशमा कस्ता गाडी आएका छन् । त्यो उपभोक्ता आफैले बुझ्न सक्छन् । हामी पनि ग्लोबल ट्रेन्ड हेरेर परिवर्तन भइरहेका छौं । त्यहाँ उपलब्ध भएका गाडी यहाँ लिएर बिक्री गर्ने हो ।

विश्वमा ईभीको माग बढ्दै जाँदा आइसीई गाडीको उत्पादनलाई बन्द गर्ने घोषणाका खबर आइरहेका छन् । विश्वमा आइसीईको स्थान ईभी गाडी ओगट्दै गएर यसको उत्पादन गर्नबाट कम्पनीहरू ब्याक भएका हुन् ?

-विदेशी धेरै कम्पनीहरूले केही समय अगाडि फशियल फ्यूल कारको उत्पादन नगर्ने भनेर घोषणा गरेका थिए । तर, ति कम्पनीहरूले अहिले यति छिटै फशियल फ्यूल कारहरूको उत्पादनहरु बन्द नहुने भनिसका छन् । ईभीसँगसँगै यसको उत्पादन अझै हुन्छ नै । भारतमा पनि सन् २०३० देखि ईभी गाडी मात्र बिक्ने भन्ने प्रक्षेपण गरिएको छ । तर, त्यो सम्भव म चाहिँ देख्दिन । नयाँ नयाँ प्रविधिहरू आए पनि पेट्रोल गाडी पनि ठिक हुन्छ । जसरी गाडी आउँछ त्यसरी नै व्यवस्थापन पनि हुँदै जान्छ । अहिले ईभी गाडीको आयात बढ्दै गइरहेको छ ।

हरेक गाडीका आयातकर्ता आफैले पनि चार्जिङ स्टेशन थप्ने कार्य गरिरहेका छन् ।

पहिला ईभीको लागि चार्जिङ स्टेशन लगायतका पूर्वाधारहरू थिए । ईभी गाडीको आयातसँगै चार्जिङ स्टेशन विकास हुँदै गइरहेको छ । हरेक गाडीका आयातकर्ता आफैले पनि चार्जिङ स्टेशन थप्ने कार्य गरिरहेका छन् । यसको ब्याट्री व्यवस्थापनका लागि अधिकांश कम्पनी आफैले बाह्य कम्पनीसँग सम्झौता गरेका छन् । उक्त गाडीमा त्यो ब्याट्री उपयोग भइसकेपछि एग्रीमेन्ट गरेको कम्पनीलाई पठाउँछौं । ईभीको प्रयोगकर्ता यसरी नै बढ्दै गयो भने ४/५ वर्षपछि यहाँ रिसाइक्लिङको पनि सुरु हुन सक्ला ।

नेपालमा एकपछि अर्को ब्रान्डका ईभी गाडी भित्रिने क्रम जारी छ । तर, नेपालमा कति क्षमताको गाडीहरू आवश्यकता छ ? त्यो क्षमताका ईभीका बारेमा अध्ययन गरिएको छ ?

-ग्राहकको आवश्यकता अनुसार उपयुक्त क्षमताका गाडी बजारमा हुनुपर्छ । सोही सिलसिलामा विभिन्न क्षमताका गाडीहरू भित्रिएका छन् । सहरमा चलाउनु छ भने ५० किलोवाट क्षमताको गाडी पनि ठिक हुनसक्छ । तर, त्यसको लागि सहि मोटर चाहिँ आउनुपर्यो । नेपालमा लन्च हुने अहिले अधिकांश गाडीहरू ९९ किलोवाट भन्दा माथिका गाडीहरू भित्रिएका छन् ।

भविष्यमा अहिले आएका भन्दा पनि ठूला ईभी गाडी आउँछन् । त्यसको ड्युटी पनि बढी छ । यो सामान्य प्रक्रिया हो । ग्राहकहरूले मन नपराएको खण्डमा त्यस्तो खाल्को गाडीहरू आउँदैन । ईभी अहिले नयाँ छ । त्यसमा धेरै कुरा परिवर्तन हुँदै पनि जान्छ । कस्ता गाडी किन्ने ग्राहक आफैले निर्णय गर्ने कुरा हो ।

गाडीका प्रयोगकर्ता बढ्दो क्रममा छन् । खासमा भन्ने हो गाडी अति आवश्यक बस्तुभित्र परिसकेका छ । तर, सरकारको प्राथमिकतामा अझै यो क्षेत्र पर्न नसक्नुको कारण यहाँले के देख्नु भएको छ ?

-नेपालमा वर्षेनी करिव १० हजारदेखि २० हजारको हाराहारीमा प्यासेन्जर कारको बिक्री हुन्छ । सरकारले पैसा जोसँग उसले मात्र गाडी चढेको छ भनेर सोचेको छ । मान्छेको आवश्यकता हेरेर कसैले कार त कसैले मोटरसाइकल खरिद गर्न सक्छ । र, अरूका लागि सार्वजनिक यातायात पनि चाहिन्छ । यातायात जरुरत छ भनेर सरकाले बुझेको छ । तर, सरकारलाई अटोमोबाइल सेक्टर बाटै धेरै कर आउँने भएकाले यसमा कर बढी राखिएको छ ।

सरकारले अटो सेक्टरमा लिएको नीति ठिक छ ?

-केही नीति ठिक छ भने धेरै नीतिहरू बेठिक छन् । यद्यपि नीतिको सुधार गरी अगाडि बढ्नु आवश्यक छ । जुन बेलामा नेपालसँग विदेशी मुद्रा सञ्चिति कम थियो । त्यो गाडीको आयातलाई प्रतिबन्ध लगाउँदा गाडी व्यवसायीहरूलाई पनि अप्ठ्यारो अवस्थाको सिर्जना भयो । यद्यपि गाडी आयातलाई बन्द गरिहाल्नु पर्ने अवस्था आएको थिएन । अहिले लिक्युडिटी राम्रो हुँदा हुँदै आइसीई भेहिकलमा ५० प्रतिशत पनि बैंकबाट फाइनान्स हुँदैन । कमर्शियल भेहिकलमा बैंकले अझै पनि उपयुक्त फाइनान्स गरिरहेको छैन ।

गाडी चोरी भएर आउँदैन । तर, पार्ट्स, लुब्रिकेन्ट, टायर बोर्ड खुल्ला हुँदा ठूलो मात्रामा चोरी भएर आउँछ । सरकार लिगल रूपमा सामान आयात गर्नेहरूलाई टाइट गर्ने गर्छ । तर, चोरी भएर आउने सामानमा रोक्ने प्रयासमा सरकार लागेको देखिँदैन । यस्तै, बोर्डर एरियाका धेरैले मान्छेले भारतमा गएर गाडी किनेर राखेका हुन्छन् । अनि त्यो गाडी सामान्य शुल्क बुझाएर नेपालमा प्रयोग गर्छन् ।

सरकारको नीति नियममा स्थायित्व नहुँदा अटोमोबाइल सेक्टर चुनौतीपूर्ण अवस्थामै छ भन्दा फरक पर्दैन ।

भारतबाट पर्यटन आउँदा बढीमा उक्त गाडी १/२ महिना स्वीकृति लिएर घुम्नुपर्ने हो । तर, उक्त गाडी वर्ष भरी नेपालमा चली रहेको हुन्छ । एकपटक भारत लैजाने २/३ दिन राखेर फर्काउने अनि नेपालमै प्रयोग गर्नुभएन । कमर्शियल भेहिकलका गाडी पनि यहाँ धेरै आइरहेका छन् । त्यसलाई निश्चित ठाउँमा रोकेर नेपाली गाडीको प्रयोग गर्नुपर्छ । सरकारले पूर्वाधारमा खर्च बढायो भने अटो क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि राम्रो हुन्छ ।

अहिलेको अवस्थामा नेपाली अटोमोबाइल व्यवसायीले भोग्नुपरेका समस्या के हुन् ?

-अटोमोबाइल सेक्टरमा अलगअलग समयमा अनेकौं बाधाहरू आइरहेका हुन्छन् । त्यो कहिले भन्सारसँग जोडिएको हुन्छ त कहिले नेपाल राष्ट्र बैंकसँग वा अन्य । बाढी पहिरोका कारण सडकमा पुगेको क्षतिले गर्दा भन्सारमा गाडी बसेका छन् । जसले गर्दा दशैं अगाडि नै बुकिङ भएका गाडी चाहिँ डेलिभरी गर्न गाह्रो देखिन्छ । आएका देखिएका समस्यालाई सम्बन्धित निकायसँग कुराकानी गर्ने समाधान गरी अगाडि बढ्दै आएका छौं ।

सरकारले अटो सेक्टरको विकासका लागि कस्तो इकोसिस्टम तयार गरिदियो भने यो सेक्टर चलायमान हुन्छ ?

-अटोमोबाइल सेक्टरले प्रत्यक्ष रूपमा उत्पादन, बिक्री, मर्मतसम्भार, पार्ट्स आपूर्ति जस्ता क्षेत्रहरूमा मात्र नभई अप्रत्यक्ष रूपमा इन्धन, बीमा, बैंकिङ आदि क्षेत्रहरूमा पनि योगदान पुर्याउँछ । जसको माध्यमबाट राज्यले ठूलो मात्रामा राजश्व संकलन गर्दै आएको छ । यस क्षेत्रले अर्थतन्त्रमा पुर्याउने योगदान निकै महत्वपूर्ण मान्न सकिन्छ । तर, सरकारको नीति नियममा स्थायित्व नहुँदा अटोमोबाइल सेक्टर चुनौतीपूर्ण अवस्थामै छ भन्दा फरक पर्दैन । नीति नियम दीर्घकालीन भयो भने अटो व्यवसायीहरूलाई धेरै हदसम्म सहज हुन्छ ।

गाडी आयात गरेर ल्याएपछि गाडी बेच्ने डिलर पनि बाँच्नुपर्यो । यसैगरी निजी क्षेत्र अगाडि बढ्न सक्यो भने मात्र नयाँ लगानी थपिन्छ । र, व्यापारीहरु पनि बाँच्न सक्छन् । चाँडै हुने नियम परिवर्तन स्थिर गर्न सक्यो भने जसले यहाँ लगानी गरेको छ । लङटर्म प्लानिङ इको सिस्टम बन्यो भने निजी क्षेत्र सरकारको प्लान अनुसारकै प्लानिङको गरेर अगाडि बढ्न सक्छौं ।

अहिलेको अवस्थामा अटो व्यवसायीहरुलाई सर्भाइभ गर्न कतिको सहज भइरहेको छ ?

-भर्खरै नाडा अटो शो सम्पन्न भएको छ । यो शोमा पर्वका रूपमा पनि हेरिन्छ । नाडाले गर्दा अटो सेक्टरमा पुरै परिवर्तन आइदिन्छ भन्ने हैन । मानौँ तपाईंले बाइक चलाउनु हुन्छ भने तपाईंले अटो शोमा गएर टायर किन्नुहुन्छ । टायर खिइसकेपछि किन्ने हो । सर्भिसिङ गर्ने बेलामा लुब्रिकेन्ट परिवर्तन गर्ने हो । नाडा अटो शोले मात्र पुरा परिवर्तन आउँदैन । यसले गर्दा इच्छा नभएको मान्छेलाई पनि इच्छुक गराउन सक्छ । नाडा अटो शोले सहयोग गर्ने हो अटो सेक्टर नै परिर्वन गर्ने हैन । अहिले पनि अटो सेक्टरको अवस्था जटिल छ । केही नयाँ आएका ब्रान्ड राम्रो पनि भए । कोही कोही ब्रान्ड राम्रो भए पनि अधिकांश ब्रान्ड गाह्रो अवस्थाबाट गुज्रीरहेका छन् ।

पुराना भन्दा नयाँ ब्रान्डमा ग्राहकको आकर्षण बढ्दै गएको हो ?

-नयाँ आएका ब्रान्डसँग एड्भान्स गाडी छन् । हेर्दा पनि नयाँ ब्रान्डकै गाडी धेरै उपलब्ध छन् । मूल्य पनि उचित छ । पुराना ब्रान्ड जसले ईभी बनाउँदै छन् ती गाडीको लन्च नेपालमा भइसकेका छैनन् । धेरै कम मोडलका मात्र ईभी गाडी लन्च गरेका छन् । त्यसैले पनि बजारमा नयाँ ब्रान्डका गाडी धेरै मात्रामा पाइन्छ । ईभी ल्याउनै पर्ने दबाब चाहिँ अटो व्यवसायीहरूलाई बढेको छ ।

हामीले जुन ब्रान्ड ल्यायौं, त्यो उपयुक्त छैन र बेच्न सकेन भने समस्या हुन्छ । त्यसैले सचेत हुन आवश्यक देखिन्छ ।

गाडीमा यूरो६ मापदण्ड लागु गर्ने विषयले नेपालमा निकै चर्चा पायो । तर, अहिले कार्यान्वयन गर्न चाहिँ गाह्रो भइरहेको छ । ई२० विषय पनि आइरहेका छन् । यी दुई बीचमा अन्तर के छ ? र, नेपालमा यसको लागू गर्न किन आवश्यक छ ?

-युरो६ आउनुपर्छ । तर, समय दिएर मात्र । आजको भोलि नै गरेर नियम आउनु भएन । किनभने हामी व्यपारीहरु ४/५ महिना अगाडि गाडीको अर्डर दिनुपर्ने हुन्छ । त्यो अर्डरअनुसार हाम्रो सप्लायर्स कम्पनीहरूले पनि सोही अनुरूपमा पार्टहरू अर्डर गर्नु हुन्छ । अहिले युरो३,४,५ का गाडी आइरहेका छन् । अचानक युरो६ भयो भने अर्डर दिएको गाडीको के हुन्छ ? त्यसैले सबै प्लान गरी समय दिएर यो लागू गर्दा कुनै समस्या छैन । गाडीमा युरो६ हुँदा मूल्य पनि महँगो हुन जान्छ ।

यस्तै, ई२० एक प्रकारको इन्धन मिश्रण हो । जसमा २० इथानोल र ८० पेट्रोल हुन्छ । इथानोल कम्पोनेन्ट नवीकरणीय स्रोतहरू जस्तै मकै, उखु, वा स्विचग्रासबाट व्युत्पन्न हुन्छ । जसले पेट्रोलमा विदेशी मुद्रा बाहिरिने क्रम पनि घट्छ । र, यहाँको उद्योगले पनि नयाँ कुरा बेच्न पाउँदा फाइदा पनि पुग्छ । इथानोलको उत्पादनले रोजगारी सिर्जना गर्न र ग्रामीण अर्थतन्त्रलाई उत्प्रेरित गर्न सक्छ ।

नेपालमा अटोका नयाँ उद्योग चाहिँ किन्न बन्न सकिरहेको छैन ?

-नेपालमा बाइकका अधिकांश कम्पनीहरूले प्लान्ट लगाइसकेका छन् । अटो कम्पनीमा जबसम्म भोलुम बढ्दैन तबसम्म प्लान्ट हाल्न गाह्रो छ । आजको दिनमा वर्षमा १००/२०० वटा गाडी बेच्ने कम्पनीले प्लान्ट हाल्न सक्दैन । वर्षमा २/३ हजार गाडी बेच्न सक्नेले मात्र प्लान्ट हाल्ने क्षमता राख्न सक्छ । भविष्यमा २/३ वटा कम्पनीहरू मिलेर प्लान्ट लगाउलान् । तर, ईभीमा अटो सिफ्ट भइराख्दा कसले हाल्ने कुन कम्पनीले हाल्ने पनि दुविधामा छ । मैले केही वर्ष अघिसम्म फोर्डका गाडी वर्षमा १३ सय वटासम्म बिक्री गरेको थिए ।

फोर्डले अहिले पुनः भारतमा उत्पादनको सुरुवात गर्ने भएको छ ।

आज वर्षमा ५० वटा गाडीसम्म मात्र बिक्री भइरहेको छ । ईभीको माग बढ्दा र भारतमा फोर्डको प्लान्ट बन्द हुँदा नेपालमा फोर्डको बिक्री घट्यो । जब म यहाँ व्यवसायिक स्थिरता देख्दिन भने मलाई लगानी गर्ने आँट हुँदैन । जसको गाडी राम्रो बिक्री भइरहेको छ । उसले प्लान्ट हाल्ने हिम्मत गर्छ । चार पाङ्ग्रेमा हुन्डाईले प्लान्ट हाली सकेको छ । भोलि अर्कोको कम्पनीले प्लान्टको स्थापना गर्न सक्छ ।

तपाईंहरुको आफ्नो व्यवसायी अवस्था चाहिँ कस्तो छ ? ग्राहकको निकै रोजाइमा पर्ने फोर्ड अहिले अलिक सुस्ताएको जस्तो देखिन्छ नि किन ?

-पहिला फोर्ड उत्पादन भारतमा हुन्थ्यो । उक्त प्लान्ट बन्द भएपछि यहाँको बिक्री धेरै घट्यो । अहिले यहाँ विदेशबाट आउने महँगा गाडी मात्र छन् । नेपालमा यसको सेल कम छ । किनभने अधिकतम ईभी बिक्री भइराखेका कारणले गर्दा अहिले फोर्डको बिक्रीमा कमि आएको हो । त्यसले गर्दा अहिलेको गाह्रो अवस्थाबाट अगाडि बढी राख्नु परेको छ । तर, त्यति हुँदाहुँदै पनि हामी प्रति विश्वास राखेर हाम्रा ग्राहकले फोर्डका जुन मोडलका गाडी किनेका थिए । भारतमा प्लान्ट बन्द भएपछि उहाँहरूलाई राम्रो सर्भिस दिइरहेका छौं ।

यद्यपि फोर्डले अहिले पुनः भारतमा उत्पादनको सुरुवात गर्ने भएको छ । त्यहाँ प्लान्ट लगाएपछि थप सहज हुन्छ भन्ने विश्वास लिएका छौं । त्यहाँ कुन–कुन गाडी बन्छ । त्यो हामीलाई जानकारी प्राप्त भएको छैन । तर, त्यहाँ नेपालको लागि उपयुक्त गाडीहरू बनेमा त्यहाँबाट पनि गाडी ल्याउँछौं । फोर्डको ईभी गाडी पनि आउँछन् ।

ईभीको माग बढ्दा र भारतमा फोर्डको प्लान्ट बन्द हुँदा नेपालमा फोर्डको बिक्री घट्यो ।

भारतमा उत्पादन हुने अधिकांश सानो गाडी थियो । त्यो गाडीको उत्पादन बन्द भएपछि बेच्नको लागि अहिले गाडी छैन । ग्राहकले नखोजेको, नरुचाएको हाेइन । तर, हामीले सप्लाई गर्न नसकेर गाह्रो भएको हो । अहिले पनि अफरोडको लागि फोर्ड रुचाउँछन् ।

नेपालमा चाहिँ फोर्डको ईभी गाडी कहिले आउँछ ?

-फोर्डले ईभी गाडी बनाइरहेको छ । उक्त गाडी नेपालमा मात्र नआएको हो । उनीहरूले उत्पादन सकेर सफल परीक्षण भएसँगै ईभी गाडी आउँछ । नेपालमा सम्भवतः सन् २०२५ सम्मा फोर्डको ईभी गाडी आइपुग्छ । फोर्डका नयाँ मोडलका गाडी पनि आउँदैछन् ।

अटो सेक्टरको भविष्यलाई राम्रो बनाउनका लागि व्यवसायीहरूले के गर्न आवश्यक छ ?

-व्यवसायीहरूले नेपालमा विभिन्न ब्रान्डका गाडी ल्याई बिक्री गरिरहेका छन् । त्यो ब्रान्ड यस्तो हुनुपर्यो । जसले भविष्यमा पनि सर्भिस दिन सकोस् । एउटा ब्रान्ड विदेशमा बन्द भएर आउन सकेन वा हामीले जुन ब्रान्ड ल्यायौं, त्यो उपयुक्त छैन र बेच्न सकेन भने समस्या हुन्छ । त्यसैले यो विषयमा व्यवसायी पनि सचेत हुन आवश्यक देखिन्छ ।

भोलिका दिनमा ग्राहकले ईभी राम्रो रहेनछ भनेर भन्न थाले भने अटो मोबाइल सेक्टर बिग्रन सक्छ । त्यसैले यस्तो गाडी ल्याउन्, व्यवसायीहरू पनि राम्रोसँग सर्भिस दिन सकुन् । अहिले दुई पाङ्ग्रे सवारीमा समस्याको सिर्जना भइसकेको छ । नेपालमा अहिले ईभी स्कुटरका ७०/८० वटा ब्रान्ड छन् । उत्पादन गर्ने कम्पनीहरूले गर्दा पनि आयातकर्ताहरू मूर्ख बनिरहेका छन् । व्यवसायीहरूले पनि त्यसको बारेमा राम्रोसँग अध्ययन गरे सवारीहरू ल्याउन आवश्यक छ ।

Logo