लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छः मुख्यमन्त्री आचार्य

लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छः मुख्यमन्त्री आचार्य

केन्द्रबिन्दु
56
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् ।

रूपन्देही उद्योग सङ्घको ४६औँ वार्षिक साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै उनले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकारले उच्च प्राथमिता दिनुपर्ने बताएका हुन् ।

उनले प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लामा औद्योगिक क्षेत्र बनाउने निर्णयलाई कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने जानकारी दिँदै उनले उद्योगी, व्यवसायीको उत्साहसंग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको बताए ।

मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताए । “जबसम्म उद्योगी, व्यवसायीले निर्विवाद ढंगले उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तबसम्म मुलुकको पनि उन्नति हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्ने भनेकै नीजि क्षेत्रले हो”, मुख्यमन्त्री आचार्यले भने,“सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।”

मुख्यमन्त्री आचार्यले परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी रहेको जनाउँदै उत्पादनको क्षेत्रमा लगानी बढाउन उद्योगी, व्यवसायीलाई आग्रह गरे । उनले स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी रहेको र स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिने स्पष्ट पारे ।

प्रदेश सरकारले बनाएका कानुनबाट उद्योग र व्यवसायका क्षेत्रमा काम गर्न सन्दर्भमा कुनै समस्या परेको भए त्यसलाई सहजीकरण गरेर त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । सो अवसरमा उनले उद्योगी, व्यसायीको सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Logo