काउली उत्पादनले घरखर्च चलाउन सहज

काउली उत्पादनले घरखर्च चलाउन सहज

केन्द्रबिन्दु
98
Shares

दिपायल (डोटी) । काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् ।

विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा काउली उत्पादन हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

जिल्लाको के आईसिंह गाउँपालिका–४ किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै काउली खेती बनेको छ । काउली उत्पादनबाट मात्रै उनले गतवर्ष रु दुुई लाख ५० हजार आम्दानी गरे ।

यसवर्ष पनि बारीमा करिब रु चार लाख बराबरको काउली बेच्न तयार भएको धामीले बताए । गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका उनको भनाइ छ ।

“घरखर्च चलाउन विदेश जानुपरेको छैन । काउली उत्पादनले नै घरखर्च चलाउन सहज भएको छ”, धामीले भने ।

के आई सिंह गाउँपालिका–४ का डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा लगाएको काउली बेचन तयार भइसकेको छ । उनले गत वर्ष एक रोपनीमा लगाएको काउलाीबाट करिब रु एक लाख आम्दानी गरेको बताए । यसवर्ष पनि बारीमा लगभग रु दुई लाख बराबारको काउली तयार भएको छ ।

परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका के आई सिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले बताए । पालिकाले किसानलाई उत्पादन भएको तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उनले बताए ।

के आई सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख योगेश रावल हिउँदे र बर्खे बालीका रूपमा काउलीखेती गरी किसानले मनग्य आम्दानी गर्दैआएका बताउँछन् । गर्त वर्ष एक हजार दुई सय क्विन्टल काउली उत्पादन भएको उनले बताए । कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र के आई सिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताए ।

Logo