रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात् रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका उक्त कार्यक्रममा साह पुगेका थिए ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ साहलाई बधाई दिँदै आगामी दिनमा थप प्रतिस्पर्धिहरुको सहभागिता रहने बताएको छ । भारतमा आयोजना भएको र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर राइडर साहले नेपालको प्रतिनिधित्व गरेका थिए । 

उक्त कार्यक्रममा  असोज १६ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो । यो राइड रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ । 

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटरसम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।

एक कार्यक्रमकाबिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी सहित सम्मान गरेका थिए ।  

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्‍यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ । 

अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए । जुन बाइक अफरोडका लागि परिचित छ । र्‍याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो । जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ । र, यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ । 

इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ । 

सफलता पश्चात दीपक साहले उत्साहित हुँदै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु, रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु ।’

दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि रोयल इन्फिल्डप्रति आकर्षण बढेको साह बताउँछन् ।

साहले सन् २०१७ र २०१८ मासमेत रेड डी हिमालयमा भाग लिएका थिए । त्यसैगरी २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटाेगोरीमा सन् २०१८ को रेड डी हिमालय र र्‍याली अफ चाम्बाको विजयीसमेत बनेका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ ।

Logo