एसजेवीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्‍यो एक करोड सहयोग

एसजेवीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्‍यो एक करोड सहयोग

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेकाे एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

एसजेवीएनले अविरल वर्षका कारण बाढीपहिरो र डुबानमा परेकाहरूलाई राहत उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो । कम्पनीले आज अर्थात् (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमै पुगेर चेक हस्तान्तरण गरेको छ ।

एसजेवीएनका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्मा, प्रमुख वित्तीय अधिकृत ओडी चौधरी, उपमहाप्रबन्धक गौरव सुद र कम्पनी सचिव सुजित कुमार झाले प्रधानमन्त्रीलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

अविरल वर्षाले गर्दा देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षतिको विषयलाई मध्यनजर गर्दै राहत स्वरुप सो रकम सरकारलाई उपलब्ध गराएको एसजेवीएनका सचिव सुजित कुमार झाले बताए । ‘नेपालमा गत सातादेखि परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ, यस विनाशलाई कम गर्न यो रकम कम्पनी मार्फत् दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हौं,’ उनले भने ।

एसजेवीएनले नेपालमा धनजनको क्षति भई अफ्ठयारो सिर्जना हुँदा ठूलो आर्थिक सहयोग गर्दै आएकाे छ ।

एसजेवीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । तीव्र गतिमा निर्माण भइरहेको अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ ।

यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Logo