बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

केन्द्रबिन्दु
98
Shares

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्तित छन् ।

उनले भने, ‘आफ्नै जग्गामा प्रतिबिघा आठ लाखको लागतमा केरा लगाएको थिएँ । दुई बिघामध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वसम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिएँ । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ ।’

उनले भारतको मदरासबाट मदरासी (चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाएका थिए । यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए ।

बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

बाढीले रु ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् ।

यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पुर्‍याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।

Logo