जनकपुरधामस्थित दसैँ बजारमा तीन करोडको कारोबार

जनकपुरधामस्थित दसैँ बजारमा तीन करोडको कारोबार

केन्द्रबिन्दु
84
Shares

महेन्द्रनगर (धनुषा) । दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ ।

गत वर्ष करिब सात/आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ ।

करिब १० वर्षदेखि स्टल राख्दै आएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गरे । करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आएका ६० वर्षीय बलराम साहले भने, “यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।”

उनले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गरे ।

दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दसैँ मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ ।

घटस्थापनादेखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमीदेखि अष्टमीसम्म रहने गरेको सङ्घकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताए । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा विगत ४८ वर्षदेखि जनकपुरमा दसैँ बजार लाग्दै आएको छ ।

Logo