फिल्म ‘ज्वाइँ साब’को ग्रस कलेक्सन तीन करोड २५ लाख

फिल्म ‘ज्वाइँ साब’को ग्रस कलेक्सन तीन करोड २५ लाख

केन्द्रबिन्दु
462
Shares

काठमाडौं । गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ ।

जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ले प्रदर्शनको १० दिनमा सुखद कमाइ गरेको छ । दशैंको फूलपातीमा रिलिज भएको फिल्मले पछिल्लो सप्ताहन्तमा सुखद प्रदर्शन गरेको छ ।

फिल्म निर्माण पक्षले आइतबार फिल्मको दोस्रो सप्ताहन्तसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । वितरकका अनुसार फिल्मले दोस्रो सातासम्म आइपुग्दा तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो । यो शुक्रबार र शनिबार सबै शो हाउसफुल भएको बताइएको छ । वितरक रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले फिल्मलाई दर्शकले रूचाएको बताएका छन् ।

उनले कुन फिल्म माथि, कुन तल भन्दा पनि यसपटक तीनवटै नेपाली फिल्मलाई दर्शकले रूचाउनु सबैभन्दा राम्रो पक्ष भएको बताएका हुन् । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

यो फिल्म फूलपातीमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’सँगै प्रदर्शनमा आएको थियो ।

Logo