ट्राफिक नियम उल्लङ्घन गरेबापत अब नागरिक एपबाटै जरिवाना तिर्न सकिने

ट्राफिक नियम उल्लङ्घन गरेबापत अब नागरिक एपबाटै जरिवाना तिर्न सकिने

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अब नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरेको छ ।

आइतबारदेखि यो सुविधा कार्यान्वयनमा आएपछि ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले एपमार्फत जरिवाना तिर्न सक्ने भएका हुन् ।

प्रहरी कार्यालयले आइतबारदेखि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) र ‘ई–चलान’ (डिजिटल चिट) आधिकारिक रूपमा प्रारम्भ गरेको हो ।

सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिएर तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याइएको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताएका छन् । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराएर पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

यसले अबदेखि सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अन्त्य हुने विश्वास गरिएको छ । त्यसैगरी सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ भने ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत क्युआर कोडबाट चालक अनुमतिपत्र देखाउन सकिने छ ।

लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स नपाएका २२ लाखभन्दा बढी सवारी चालकहरूले नागरिक एपमार्फत आफ्नो लाइसेन्स नम्बर प्राप्त गर्ने भएकाले अब राहत महसुस गर्न सक्ने बागमती प्रदेश–श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बताए ।

यसरी काटिन्छ ‘ई–चलान’

चालकको मोबाइलमा क्युआर कोड देखिन्छ । प्रहरीले उक्त कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ । यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्ने बताइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित ‘शुभारम्भ कार्यक्रम’ मा प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकका साथमा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहरा, बागमती प्रदेश–श्रम, रोजगार तथा यातायात मनत्री माननीय प्रेमभक्त महर्जन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Logo