चालू आर्थिक वर्षको पाँच महीनामा शोधान्तर घाटा ८५ अर्ब पुग्यो

चालू आर्थिक वर्षको पाँच महीनामा शोधान्तर घाटा ८५ अर्ब पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल राष्ट्र बैंकले विहिबार प्रकाशित गरेको चालू आर्थिक वर्षको पाँच महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा घाटा विस्तार भई एक खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महीनामा ६२ करोड तीन लाख रहेको चालू खाता घाटा समीक्षा अवधिमा एक अर्ब चार करोड ४५ लाख पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति पाँच अर्ब ४८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महीनामा पाँच करोड ३९ लाख घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड एक लाख पुगेको छ ।

बैंकका अनुसार गत असारसम्म कूल विदेशी विनिमय सञ्चिति ११ खर्ब दुई अर्ब ५९ करोडबाट शून्य दशमलव तीन तीन प्रतिशतले कमी आई २०७५ मङ्सिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब आठ करोडबाट सात दशमलव नौ प्रतिशतले कमी आई २०७५ मङ्सिर मसान्तमा नौ अर्ब २९ करोड रहेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तको नौ खर्ब ८९ अर्ब ४० करोडको तुलनामा २०७५ पुस मसान्तमा ६६ अर्ब २६ करोडले कमी आई नौ खर्ब २३ अर्ब १४ करोड रहेको छ । कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव सात प्रतिशत छ ।

विप्रेषण आप्रवाहमा वृद्धि

बैंकका अनुसार चालू आवको पाँच महीनामा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले वृद्धि भई तीन खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव आठ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९ दशमलव ८ प्रतिशतले वृद्धि भई चार खर्ब २८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव पाँच प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४० दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई दशमलव पाँच प्रतिशतले घटेको थियो । मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्य मात्रामा घटेको छ ।
रासस

Logo