लगानी सम्मेलनबारे विकास साझेदार संस्थाहरुसँग अर्थमन्त्रीको छलफल

लगानी सम्मेलनबारे विकास साझेदार संस्थाहरुसँग अर्थमन्त्रीको छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले ‘नेपाल लगानी सम्मेलन’बारे कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाहरुलाई औंपचारिक रुपमा जानकारी गराएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सिंहदरबारमा नेपालस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरुलाई बोलाएर ‘नेपाल लगानी सम्मेलन’ बारे औंपचारिक जानकारी गराएका हुन् । आगामी चैत्र १५ र १६ गते वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ सरकारले सो सम्मेलन आयोजना गर्दैछ ।

सोही सम्बन्धमा जानकारी दिन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिहरुसँग अर्थमन्त्री खतिवडाले छलफल गरेका हुन् ।

लगानी सम्मेलनलाई सफल बनाउन आवश्यक सुझाव लिन विकास साझेदार तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । उनले छलफलका क्रममा नेपालका विकास साझेदार संस्थाहरुले सो लगानी सम्मेलन सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

अर्थमन्त्री खतिवडाले सो अवसरमा नेपालका विकास साझेदार संस्थाहरुसँग नेपालले वैदेशिक लगानीलाई भित्रयाउन आवश्यक कानुनी, नीतिगत र संरचनागत तयारी गरेको जानकारी गराएका थिए ।

नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले दोस्रो पटक सो लगानी सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनलाई सफल बनाउन सरकारले अर्थमन्त्री खतिवडाको संयोजकत्वमा मूल आयोजक समितिनै गठन गरेको छ । अर्थमन्त्री खतिवडाले सो सम्मेलन सफल बनाउन सबैलाई सहयोग गर्न पनि पुनः आग्रह गरे ।

Logo