गौतमबुद्ध विमानस्थलको ६० प्रतिशत निर्माण सकियो

गौतमबुद्ध विमानस्थलको ६० प्रतिशत निर्माण सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ ।

धावनमार्गको कालोपत्रको काम सम्पन्न भएपछि विमानस्थलको भौतिक निर्माण प्रगति ७५ प्रतिशत माथि पुग्नेछ । आगामी दुई महीनाभित्र कालोपत्रको काम सकिने आयोजनाले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार पछिल्लो नौ महीनामा आयोजनालाई अगाडि बढाउन दर्जनौँपटक स्थलगत अनुगमन गरिएको, निर्देशन एवं समन्वयबाट तत्काल समस्या समाधान गरिएका कारण आयोजनामा उल्लेख्य प्रगति भएको हो ।

मन्त्री अधिकारीले भन्नुभयो, “करीब करीब सुस्त अवस्थामा रहेको विमानस्थल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने एयर ट्राफिकको समस्या समाधान पनि सहयोग पुग्नेछ ।” राष्ट्रिय गौरवको सो आयोजना समयमै सम्पन्न हुन लागेको र पहिलोपटक काठमाडौँ उपत्यका बाहिर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीमा पुगेको मन्त्री अधिकारीको भनाइ छ ।

विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कार्य युद्धस्तरमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रमेश अधिकारीका अनुसार पहिलो चरणको कालोपत्रे सम्पन्न गरी हाल धमाधम दोस्रो चरणको कालोपत्रे भइरहेको छ । तेस्रो र चौथो चरणको कालोपत्रे सम्पन्न भए पनि विमानस्थलमा जहाज उडान तथा अवतरणका लागि योग्य हुनेछ ।

यस्तै मुलुकको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार प्रक्रिया अगाडि बढाइएको छ । सरकारले सो विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ मा परिणत गर्ने योजनास्वरुप नेपाली कलात्मक सामग्री राखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण घोषणा गरेको तथा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकामा विमानस्थललाई परम्परागत, मौलिकस्वरुप र अत्याधुनिक सुविधायुक्त बनाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने योजना अगाडि सारिएको छ ।
रासस

Logo