संसदमा प्रधानमन्त्रीको एक घण्टा लामो भाषण (सम्बोधनको पूर्णपाठसहित)

संसदमा प्रधानमन्त्रीको एक घण्टा लामो भाषण (सम्बोधनको पूर्णपाठसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धमिलो पानीमा माछा मार्ने काम नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । आईतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका हुन् ।

कर्मचारी समायोजन अध्यादेशलाई लिएर विपक्षीले गरेको विरोधप्रति लक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । प्रतिपक्षी दलले सरकारले गरेका राम्रा कामलाई ओझेलमा पार्ने गरि अपवादका घटनालाई अनावश्यक उचाल्ने गरेको दाबी गरे ।

सार्वजनिक महत्वको विषयमा बोल्न रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ठाडै संसदमा उठेका रंगीविरंगी प्रश्नको सम्बोधन नगर्ने स्पष्ट नै पारे । रंगिविरंगी प्रश्नलाई सम्बोधन गर्न भन्दा पनि बजेट कार्यान्वयको पक्षमा मात्रै चर्चा गर्न चाहेको उनले बताए ।

उनले भने, “मलाई कुनै तर्क र वहसमा रुची छैन । र गर्नुपनि छैन । गर्नु छ त केबल मुलुकको विकास । अब पनि विकास नगर्ने हो भने कहिले गर्ने ? हामीले पनि नगर्ने भए कसले गर्ने ? जनताले बहुमतको सरकार दिएको समयमा पनि मुलुकको विकास नगर्ने हो भने कस्तोमा विकास गर्ने ? त्यसकारण म कुनै तर्कमा अल्झिन्न ।”

उनले वर्तमान सरकारको मुख्य कार्यभार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन गर्ने रहेको भन्दै उनले त्यसका लागि सुशासन र विकासको महाअभियान आवश्यक रहेको र त्यही महाअभियानमा वर्तमान सरकार जुटेको बताए ।

आफ्ना अभिभारा र आफुले प्रस्तुत गरेको बजेट कार्यान्वयनमा कति अघि बढ्न सक्यौ भन्ने समिक्षा गर्ने विन्दुमा सरकार पुगेको भन्दै उनले उपलब्धिका यथार्थ निष्कर्षका आधारमा सरकार सफल÷असफल भएको जाँच गरिनुपर्ने तर्क गरे । सम्वृद्ध नेपाल र सुखी नेपालीको सपना देख्नु गल्ति नभएको भन्दै उनले त्यसकै लागि सरकारले काम गरिरहेको दाबी गरे ।

सांसदहरुले दोहोरो सुविधा लिएको तथा राष्ट्रपतिका बारेमा मिडियामा आएका समाचारलाई प्रधानमन्त्रीले लोकतन्त्र माथिको हमलाको संज्ञा दिए ।

उनले भने, “संबैधानिक व्यवस्थामा राष्ट्रपति आफैं बोल्दैन । केही गर्दैन र कुनै प्रतिवाद गर्दैन । जुन संस्था आफैं बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के हो ? गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गणतन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझी रहेका छैनौं ? आज त्यो ‘तिर’, संघीय संसद, प्रदेश र स्थानीय तहतर्फ सोझिएको छ । कुनैसमय रक्तअल्पताको औषधि सेवन गर्ने सांसदलाई लक्षित गर्दै सुत्केरीको औषधी खायो, पुरुष सांसद सुत्केरी भयो भन्ने अनाहकमा अफवाह फैलाईयो । त्यस्ता हरकतबाट संसद कति बद्नाम भयो र अतिवादलाई कसरी मलजल गर्‍योे? त्यस्ता हरकत, असोज १८ र माघ १९ को तयारी थियो भन्नेमा हामी सबै स्पष्ट नै छौं । अहिले, सबै सांसदहरुलाई ठग, लुच्चा, तेलचोरको रुपमा चित्रित गर्दै, चालक तथा नीजि सहयोगीको भत्ता समेत हसुर्ने जस्तो गरी प्रचार प्रसार भई रहेको छ । जानेर होस् वा नजानेर, यसरी भएको सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै हैन प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो, होस गरौं ।”

सामाजिक सुरक्षा योजनाबारे र रेलः
उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना राम्रो काम भएकाले जस कसले लिने भन्ने विषयमा बहस नगर्न प्रतिपक्षी दललाई आग्रह गरे ।

उनले भने, “केही माननीय सदस्यहरु र विभिन्न दलका केही नेताहरुले चित्त दुखाउनु भएको पनि मैले थाहा पाएको छु । मेरा मित्र पूर्व प्रधानमन्त्रीले त यसै सदनमा प्रश्न गर्नु भयो– “सामाजिक सुरक्षा हामीले हाम्रो पालामा ल्याएको हो, अहिले प्रधानमन्त्रीले आफूले ल्याएको भन्ने?” यसमा अप्ठ्यारै मान्नुपर्ने, मुखै लुकाउनु पर्ने कुरा कहाँबाट आयो ? जस, जो कोहीले लिनुस्, लिनु भए हुन्छ । हामी प्याटेण्ट राइट वा कपी राइटमा बहस गरिरहेका छैनौं । यो उपलब्धि मेरो एक्लै वा मेरो दलको हो भनेर कही भने र ?”

आफैले ल्याएको कार्यक्रम प्रति खिसिट्युरी किन ? भन्दै उनले भने, “सबैले श्रेय पनि लिउँ काम पनि अघि बढाउँ ।”

नेपालीको रेल सपनालाई पुरा गर्न वितेका केही बर्ष देखि मैले आफ्नो पहल र प्रयासलाई सिथिल हुन नदिएको भन्दै उनले मुलुकको विकासका लागि रेल वे र वाटर वे गेम चेन्जर हुने तथ्यलाई अफवाहको तुवाँलो भित्र पुरिदिने विपक्षीका प्रयासलाई नियालिरहेको बताए ।

कागजको डुंगा फ्याकेर, रित्ता बाल्टीन लाईनमा राखेर र गुडिया बनाएर आफ्नो पानी जहाज र रेलः ल्याउने योजनामाथि व्यंग्य गरिने गरेको प्रसङ्ग स्मरण गर्दै उनले दुवै विषयमा ढुक्क बन्न प्रतिपक्षी दललाई आग्रह गरे ।

उनले भने, “मैले सुन्ने गरेको छु ,जहाजको टिकट काटौ भनेको काउण्टर खै ? हिजो नपत्याउने हरु समेत आज अब त हुन्छ भन्ने विश्वास भएछ र कमसेकम टिकट काट्ने ठाउ खोज्न थाल्नुभएछ । धैर्य गरौ मेरो सुझाव छ । रेल आउछ पानी जहाज पनि आउछ । म साथीहरुलाई ढुक्क रहन आग्रह गर्दछु ।”

शुसासन र शान्ति
शुसासन बहाली र भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै कसर बाकी नराख्ने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जाहेर गरे । अपराध नियन्त्रणको सन्र्दभमा प्रहरी प्रशासनले ९६ प्रतिशत सफलता हासिल गरेको भन्दै उनले अपवादलाई आम रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृतिम परिस्थिति श्रजृजना गर्ने अनुचित प्रयास बाट आफु दुखी भएको बताए ।

उनले भने, “अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरी चेलीलाई न्याय सडकमा पोखिने अराजक र अमर्यादित भिडले दिने होइन सरकारले दिन्छ । त्यसको नेतृत्व मैले गरिरहेको हुन्छ । सरकारले न्याय दिन्छ । ढुक्क रहे हुन्छ । ”

सुनको तस्करी नियन्त्रण तथा संगठित अपराधको संञ्जाल ध्वस्त पार्ने सवालमा सरकारले सफलता प्राप्त गरेको दाबी गरे । चर्चित ३३ किलो सुन काण्डका केही आरोपित व्यक्ति सहित भारत कोलकत्ताबाट ३३ किलो सुन समातिएको र अनुसन्धान भईरहेको जानकारी दिए ।

यस अवधिमा ४२ केजी अबैध सुन, १ सय ५२ थान अवैध केही हतियार सहित १ सय ५० जना लाई पक्राउ गरिएको जानकारी दिए । सर्वाधिक चासो र चर्चाको विषय बनेको रेशम चौधरीको सपथ र वाईडवडी खरिद प्रकरणबारेमा भने प्रधानमन्त्री चुप रहे ।

प्रधानमन्त्री कार्यालयमा डिजिटल एक्सन रुम निर्माणका बारेमा असभ्य तरीकाले टिप्पणी गरिएको भन्दै प्रधानमन्त्री ओलीले वास्तविकता बुझेर बोल्न सांसदहरुलाई सचेत गराए । डिजिटल एक्सन रुम निर्माण प्रतिष्पर्धाको बाटोबाट अघि बढाउने काम भएको र कुनै पनि त्रुटी नभएको दावी गरे । यस सम्बन्धमा प्रतिनिधिसभामा प्रश्न उठेको थियो ।

प्रतिपक्षी दलले सरकार देखेनौ र काम भएन भन्ने टिप्पणी गरेकाले आफुले केही कुरा राखेको भन्दै उनले सबै क्षेत्रको फेयरिस्त प्रस्तुत गरे । उनले भने, “साथीहरुले भन्नुभयो खै काम गरेको ? सरकार देखिएन ? न्याय भेटिएन ? त्यसैले चौतर्फी आक्रमणका बीच मेरो नेतृत्वको सरकारले गरेका थोरै कामको केही चर्चा मात्रै गरेको ।”

उनले संविधान कार्यान्वयनका लागि १ सय ६५ कानुन अध्यावधिक भएको तथा बाँकी विधेयकहरु पनि तत्काल पेस गरिने बताए । आफ्नो नेतृत्वमा राजश्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको चालु आर्थिक बर्षको ५ महिनामा पूँजीगत खर्चमा २५ दशलमलब ३३ प्रतिशत रहेको र सरकारी खर्चमा पनि कमि आएको, मुल्यवृद्धिमा पनि कमि आएको दाबी गरे ।

उत्पादनशिल क्षेत्रमा बैकको लगानी बढेको, बैदेशिक लगानीको परियोजनामा पनि २५ प्रतिशतले बृद्धि भएको भन्दै उनले यस बर्ष आर्थिक बर्षमा आर्थिक वृद्धि दर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको बताए ।

वैदेशिक रोजगारीमा जानेको संख्या ४१ प्रतिशतले घटेको तथा ३६ प्रतिशतले रेमिटेन्स बढेको स्पष्ट पारे । पर्यटन भित्रने क्रम बढेको, छिमेकी देशसंग विद्युत् व्यापार सम्झौतामा भएको प्रगती, फोहोर प्रसोधन केन्द्रको उद्घाटन तथा मुलुकका विभिन्न स्थानमा भएको सडक निर्माण, स्तरोन्नति लगायतको फेयरिस्त पनि प्रधानमन्त्रीले संसद समक्ष प्रस्तुत गरे ।

भुकम्पपछिको पुर्ननिर्माणको क्षेत्रमा पनि सरकारले उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे । उनले तुईन विस्थापनमा पनि सरकारले प्रगति हासिल गरेको बताए । उनले १ सय १३ वटा तुईन विस्थापित भई झोलुंगे पुल बनिसकेको भन्दै प्रश्न गरे, “यत्रो ठुलो प्रगती खुसीको कुरा होइन र ?”

उच्चस्तरीय शिक्षा आयोगले आफ्नो कामलाई अन्तिम अवस्थामा पुराईसकेको लगायत केही विश्वविद्यालयका विधेयक तर्जुमा गर्ने काम भएको जानकारी प्रधानमन्त्रीले दिए ।

१ सय ३१ मध्ये ४७ वटा मालपोत कार्यालयमा सरलीकृत सेवा संचालनमा ल्याईएको, यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भएको भन्दै भ्रममा नरहने विपक्षी दललाई आग्रह गरे ।

आफुले गरेको विदेश भ्रमण, आफुले पाएको मानार्थ विद्यावारिधी सहित निकट भविश्यमा तय भएको विदेश भ्रमणका बारेमा पनि प्रधानमन्त्रीले सदनलाई जानकारी दिए । साथै राष्ट्रपतिको विदेश भ्रमणका बारेमा पनि प्रधानमन्त्रीले जानकारी दिए ।

निर्यात क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल गरेको, व्यापार घाटा १ दशमलब ५ प्रतिशतले मात्रै बढेको, धान उत्पादनमा ९ प्रतिशतले, रासायनिक मलको अनुदानका लागि थप ६ अर्ब रुपैया निकासा भएको, २३ प्रकारका रासायनिक औषधी प्रयोगमा प्रतिबन्ध लगाईएको तथा राष्ट्रपति चुरे कार्यक्रमले निरन्तरता पाएको राष्ट्रपति महिला उत्थान कार्यक्रम २७ जिल्लामा सुरु गरिएको जानकारी दिए ।

उनले सिक्टा सिंचाई आयोजना र मेलम्चि खानेपानी आयोजनामा केही समस्या देखिएपछि अन्य राष्ट्रिय गौरवका आयोजनामा प्रगति देखिएको दाबी गरे ।

Logo