म्यानपावर व्यवसायी बलबहादुरमाथि १९ करोडको करछली मुद्दा

म्यानपावर व्यवसायी बलबहादुरमाथि १९ करोडको करछली मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । म्यानपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध साढे १९ करोड रुपैयाँ बराबर कर छली गरेको मुद्दा दायर भएको छ।

वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त कर छली गरेको कसुरमा जिल्ला अदालत काठमाडौंमा शुक्रबार स्काई ओभरसिज सर्भिसेसका संचालक तामाङविरुद्ध मुद्दा दायर भएको हो।

उनीविरुद्ध विगो र जरिवानासहित १९ करोड ५७ लाख ४३ हजार ५ सय ७२ रुपैयाँ र ३ वर्ष कैद सजाय माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

तामाङको व्यक्तिगत खातामा विभिन्न विदेशी कम्पनीबाट रकम जम्मा भएको सम्बन्धमा राजस्व चुहावटको कसुरमा उनीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो। तामाङ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन्।

तामाङले सञ्चालन गरेको ओभरसिजले वैदेशिक रोजगारीमा कामदार पठाए बापत विदेशी कम्पनीबाट प्राप्त भएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएकाले राजस्व चुहावट भएको ठहर विभागको छ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा (२) (छ १) बमोजिम ६ करोड ५२ लाख ४७ हजार ८ सय ५७ रुपैयाँ बिगो कायम गरी तामाङविरुद्ध मुद्दा दायर भएको हो।

सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ। अनुसन्धानबाट तामाङले लगातार सात वर्ष आयकर छली गरेको खुलेको छ।

Logo