चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ हुने

चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्ने भएको छ । अर्थ मन्त्रालयले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘नेपाल लगानी सम्मेलन’ सम्मेलन आगामी चैत्रमा आयोजना गर्न लागिएको औंपचारिक जानकारी गराएको हो ।

नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्न लागिएको अर्थमन्त्री एवम् सो सम्मेलन आयोजक समितिका संयोजक डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधिहरु, कूटनीतिक नियोग, गैर आवासीय नेपालीसँग लगायत नेपालमा लगानी गर्न चाहाने विकास साझेदार अन्य संस्थाहरु सहभागी हुनेछन । नेपालको समृद्धिको अभियानमा साथ दिन चाहाने सबै लगानीकर्ताहरु सम्मेलनमा सहभागी हुने अर्थमन्त्री खतिवडाले बताए ।

सम्मेलनमा नेपालको कृषि, उर्जा, भौतिक पूर्वाधार अन्तरगत रेल, सडक र हवाई सेवा संचालन तथा विस्तार, उद्योग र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने विषयमा विस्तृत छलफल हुनेछ । सम्मेलन आयोजक समितिले यी पाँच वटा क्षेत्रमा लगानी भित्र्याउने गरी सम्मेलनमा छलफल हुुने जनाएको छ ।

यस अघि २०७३ सालमा गरिएको लगानी सम्मेलन फलदायी भएको निष्कर्ष निकाल्दै सरकारले थप लगानी प्रवद्र्धन गर्न पुनः अन्तर्राष्ट्रिय स्तरको लगानी सम्मेलन गर्ने भएको हो ।

लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह आयोजनामा हुने सो सम्मेलन मुलुकलाई समृद्ध बनाउन आवश्यक बाह्य लगानी भित्रयाउन सफल हुने विश्वास गरिएको छ । सम्मेलन आयोजक समितिका संयोजक एवम् अर्थमन्त्री खतिवडाले सो सम्मेलनलाई सफल बनाउन आ– आफ्नो ठाउँबाट योगदान पुर्‍याउन पनि सबैलाई आग्रह गरे ।

Logo