अब डिस होमले पनि इन्टरनेट सेवा प्रदान गर्ने

अब डिस होमले पनि इन्टरनेट सेवा प्रदान गर्ने

केन्द्रबिन्दु
0
Shares

ललितपुर । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरेको छ ।

डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ ।

पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ । उक्त कम्पनीले ललितपुरको भैँसेपाटीस्थित छ्यासीकोटमा डिस मिडिया नेटवर्क लिमिटेडका रुपमा सेवा प्रदान गर्न लागिएको छ ।

ललितपुरको छ्यासीकोटमा अवस्थित डिस मिडिया नेटवर्क लिमिटेडको कार्यालय । तस्वीरः रासस

आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आगामी दिनमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेको जानकारी दिए ।

नेपालको सूचना प्रणाली हाल अधिकांश पुरानै प्रविधिमा आधारित रहेकाले यस प्रणालीलाई डिजिटल स्वरुपमा विकास गर्न यसमार्फत ठूलो टेवा पुग्ने भन्दै उनले डिजिटल सेवाका लागि देशभर यस डिस होमको सञ्जाल पुगेको र त्यसलाई थप प्रभावकारी बनाउँदै लगिने बताए ।

सो सेवाले सन् २००९ मा नेपाल सरकारबाट स्वीकृति लिई व्यापारिकरुपमा बिक्री वितरणको अनुमति पाएको थियो । यस टिभीले हाल नेपालमा टिभी हेरिने घरमध्ये २५ प्रतिशत घरसम्म पहुँच पुर्‍याएको छ । उक्त कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले हालसम्म सो कम्पनीले करिब १५ लाख सेट–टप बक्स बिक्री गरिसकेको जानकारी दिए ।

कम्पनीले भैँसेपाटीको छ्यासीकोटमा स्याटेलाइट रिसिभर राखेको छ । सोही स्थानमा राखिएको ‘अर्थ स्टेन’ बाट सेवा देशभर १७० ओटा टेलिभिजन च्यानलको सेवा उपलब्ध गराउने गरेको छ ।

प्रबन्ध निर्देशक आचार्यले आगामी वर्षसम्ममा २४० टेलिभिजन च्यानलको सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिए । सञ्चालनमा आएयता चार अर्ब १० करोड ९१ लाख रुपैयाँ राजस्व तिरेको छ । रासस

Logo