विकासका लागि निराश नहुन अर्थमन्त्रीको आग्रह

विकासका लागि निराश नहुन अर्थमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालगञ्जको विकासका लागि निराश नहुन उद्योगी व्यापारीलाई आग्रह गर्नुभएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २७ औँ साधारणसभालाई नेपालगञ्जमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालगञ्जको विकासका विषयमा केन्द्र सरकार सकारात्मक रहेकाले क्रमिकरुपमा आर्थिक विकास हुँदै जाने बताउनुभयो ।

नेपालगञ्जलाई आफूले नजिकबाट चिनेको भन्दै यस शहरलाई विकासमा पछि पर्न नदिने उहाँले आश्वासन दिनुभयो । “वि.सं. २०३५ मा पहिलोपटक नेपालगञ्ज आएको थिएँ, त्यसपछि विभिन्न ओहदामा रहँदा यहाँको विकासका लागि काम गरेको छु,” अर्थमन्त्री खतिवडाले भन्नुभयो, “चालिस वर्षको अवधिमा नेपालगञ्जले निकै ठूलो फड्को मारेको छ ।”

साधारणसभामा बोल्ने उद्योगी, व्यवसायीले सङ्घीयता कार्यान्वयनसँगै नेपालगञ्ज पछि परेको गुनासो गरेपछि अर्थमन्त्री खतिवडाले नेपालगञ्ज विकासमा पछि नपर्ने भन्दै आश्वस्त पार्नुभयो । उहाँले नेपालगञ्जको विकास औसतरुपमा सन्तोषजनक रहेको उल्लेख गर्दै थप विकासका लागि आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

नेपालगञ्ज प्रदेश नं ५ को मात्र नभई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकोसमेत विकासको संवाहकका रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको त यो प्रवेशद्वार नै हो । जडीबुटी, कृषिजन्य, खनिज वस्तुको प्रशोधन र निकासी गर्न पनि नेपालगञ्जको विकासक नगरी विकल्प नै छैन ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले पछिल्लो समय नेपालगञ्ज आर्थिकहवका रुपमा रुपान्तरण हुँदै गएको भन्दै त्यसको प्रोत्साहन गर्न राज्य लाग्नुपर्ने बताउनुभयो । उहाँले आफू नेपालगञ्जवासी नै भएकाले यहाँको विकासका लागि सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा खतिवडालाई बाँकेको विकासका लागि ध्यानार्कषण गराउँदै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले ज्ञापनपत्र बुझाउनुभयो ।
रासस

Logo