बस्नेतको “सहकारी ज्ञानसागर” विमोचन

बस्नेतको “सहकारी ज्ञानसागर” विमोचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । बैकिङ क्षेत्रमा कार्यरत एवं सहकारीविद् शहदेव बस्नेतको पुस्तक “सहकारी ज्ञानसागर” को विमोचन गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच पूर्वउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो ।

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं भुकम्प पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी प्रमूख प्रा.डा. गोविन्द पोख्रेल सहभागी थिए ।

कार्यक्रममा वक्ताको रुपमा गरीबी निवारण कोषका पूर्वउपाध्यक्ष एवं राष्ट्रिय योजना आयोग तथा सार्क गरीवी निवारण विज्ञ डा. वाइ.बी. थापा, राष्ट्रिय सहकारी बैकका सञ्चालक तथा सहकारी विज्ञ के.बी. उप्रेती, सहकारी महासंघ, काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाईं, मेघा बैंकका डिजिएम तुलसी राम पोखरेल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै सहकारी महासंघ, काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाईले नेपालमा हालसम्म ३४ हजार ५०० सहकारी संस्था स्थापना भइसकेको र यस्ता सहकारी सञ्चालन सम्बन्धी पुस्तकको अभावको बीचमा यो पुस्तक प्रकाशित हुनु धेरै राम्रो भएको र पुस्तकको भविष्य उज्जल रहेको बताए ।

राष्ट्रिय सहकारी बैकका सञ्चालक एवं सहकारी विज्ञ के.बी. उप्रेतीले प्रत्येक सहकारीको सही सञ्चालन र चुस्त दुरुस्त आर्थिक प्रशासनको लागि यो पुस्तक अन्त्यन्त उपयोगी रहेको तथा, सहकारी मार्फत देशको आर्थिक समृद्धिको लागि पुस्तकले सहयोग गर्ने दाबी गरे ।

अर्का वक्ता डा. वाइ.बी. थापाले पुस्तक छोटो समयमै पढ्न सकिने भए पनि यसमा धेरै कुरा समावेश गरिएको र यसलाई हरेक विश्वविद्यालयले स्नातकोत्तर तहको एउटा पाठ्यक्रमको रुपमा पनि राख्न सकिने बताए ।

पुस्तक सहकारी सञ्चालक, विद्यार्थी र सबै तहका सहकारीकर्मीको लागि उपयोगी हुने बताए । अर्का वक्ता प्रा.डा. गोविन्द पोख्रेलले सहकारी मार्फत पुँजीको परिचालन गरिनु पर्दछ र यसको लागि यो पुस्तक एक उत्तम सहयोगी सावित हुनेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अथिति बामदेव गौतमले पुँजीलाई सहकारी मार्फत परिचालन गर्दा सामन्तीवर्गबाट पनि पुँजीको सुरक्षा गर्न सकिन्छ र ज्ञानै ज्ञानले भरिएको यो पुस्तकले सहकारी सञ्चालनको सही विधि र राष्ट्रिय आर्थिक विकासको क्षेत्रमा सहकारीको महत्व अझ दर्साउने बताए । अब राज्यले वित्तिय सहकारी भन्दा पनि उत्पादक सहकारी स्थापना र सञ्चालनलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सञ्चालीत उक्त कार्यक्रम निर्विकजंग रायमाझीले सञ्चालन गरेका थिए भने कार्यक्रमका सभापति तथा प्रकाशक संस्था शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेल थिए । २०८ पृष्ठ रहेको पुस्तक सहकारी ज्ञानसागरको मूल्य ३२५ रुपैयाँ रहेको छ ।

Logo