नगरकोट जाने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क नउठाउने : मण्डनदेउपुरको भने यथावत

नगरकोट जाने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क नउठाउने : मण्डनदेउपुरको भने यथावत

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

नगरकोट जाने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क नउठाउने भएको छ । चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्षदेखि लिँदै आएको कर हाललाई तिर्नु नपर्ने नीति ल्याएसँगै उनीहरूलाई राहत हुने भएको हो ।

कर उठाएदेखि विभिन्न विवादमा फस्दै आएका कारण चाँगुनारायण नगरपालिकाले हाललाई नगरकोट जाने पर्यटकसँग कर नउठाउने भएको हो । चाँगुनारायणका अन्य पार्टी प्रतिनिधि, पर्यटन व्यवसायी एवं होटल व्यवसायीको विरोध एवं मण्डन देउपुर नगरपालिकाको पटकपटक आग्रह हुँदा पनि चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले अटेर गरी कर उठाइरहेपछि मण्डरदेउपुरले पनि ३ सय मिटरमा नै कर उठाउन थालेको थियो ।

चाँगुनारायण नगरपालिकाले कर उठाउन बन्द गरे आफूले पनि पर्यटन शुल्क उठाउन बन्द गर्ने प्रतिबद्धता गरेको मण्डन देउपुर नगरपालिकाले जनाएको नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका प्रवक्ता गोकुल शर्माले जानकारी दिए । अब मण्डनदेउपुर नरपालिकामा आफूहरूले आन्दोलनका कार्यक्रम गर्ने उनले जनाए ।

दोहोरो करका कारण नगरकोटको पर्यटन व्यवसाय नै धरापमा परेको उनले जानकारी दिए । भक्तपुरको चाँगुनारायण नगरपालिकाले गत वर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिकाले २९ असोजदेखि आआफ्नो स्थानमा पर्यटकसँग कर लिँदै आएका थिए । चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्ष ५१ लाखमा पर्यटकसँग शुल्क उठाउन ठेक्का दिएको थियो भने यस वर्ष ३ करोड ५ हजारमा ठेक्का दिएको थियो । हाल मण्डनदेउपुर नगरपालिकाले १ करोडमा ठेक्का दिएको छ । प्रतिपर्यटक ३ सय रुपैयाँ चाँगुनारायणले उठाउँदै आएको छ भने मण्डन देउपुरले ३३९ रुपैयाँ उठाउँदै आएको छ ।

फरकफरक सडक भएर नगरकोट जाने पर्यटकसँग तेलकोट, कलमसी र नगरकोट चोक नजिकै तीन स्थानमा चाँगुनारायण नगरपालिकाले लिँदै आएको प्रवेश शुल्क हाललाई नलिने निर्णयप्रति पर्यटन व्यवसायीले स्वागत गरेका छन् । चाँगुनारायण मन्दिर जाने पर्यटकसँग भने प्रवेश कर यथावत रहने चाँगुनारायण नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकाको बैठकले नै कर नलिने निर्णय गरेको हो । उता मण्डनदेउपुर नगरपालिकाले चाँगुनारायण नगरपालिकाको आधिकारिक धारणा आएपछि मात्र अरू निर्णय गरिने जनाउँदै आएको छ ।
राजधानीबाट

Logo