सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बन्द 

सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बन्द 

केन्द्रबिन्दु
0
Shares

सौर्य एयरलाइन्सको सम्पूर्ण उडान आज (बिहीबार)बाट बन्द भएको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि विमानस्थल कार्यालयले एयरलाइन्सको सबै उडान रद्ध गरेको हो।

विमानस्थल कार्यालयले एयरलाइन्सले अहिलेसम्म ३ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको जनाएको छ । विमानस्थल कार्यालयले बिगत एक बर्षदेखि बक्यौता तिर्न पटक पटक म्याद दिंदै आएको थियो। त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सौर्य एयरलाइन्सले बक्यौता तिर्न अटेर गरेकाले बाध्य भएर उडान रोकेको जानकारी दिए।  उनले बक्यौता नतिरेसम्म उडान खुल्ला नहुने जानकारी दिए। कम्तिमा २० देखि २५ लाख रुपैयाँ बक्यौता तिरे उडान सुचारु गर्न सकिने उनले बताए।

कम्पनीले आगामी सोमबारसम्म केही बक्यौता तिर्ने जानकारी दिएको उनले बताए । यस अघि करिब ४ करोड बक्यौता रहेकोमा ताकेतापछि १ करोड ७० लाख रुपैयाँ बक्यौता बुझाएको थियो।

त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत बापत एयरलायन्स कम्पनीहरुले शुल्क बुझाउनु पर्छ।

सौर्यले पछिल्लो समय ५० सिट क्षमतायुक्त युक्त एउटा मात्र जहाज उडाईरहेको थियो। सौर्यले काठमाडौंबाट नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गरिरहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० मा सौर्यलाई उडान अनुमति दिएको थियो । सौर्यले मुलुकको आन्तरिक उडान इतिहासमै ‘पहिलो पटक’ जेट इन्जिनयुक्त जहाज प्रयोग गरेको थियो ।

सौर्यलाई दुई महिनाअघि गैरआवासीय नेपाली श्याम अधिकारीसहित श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको थियो ।

Logo