बैंकहरु बीच ‘ब्याज युद्ध’, कुन बैंकको कति ?

बैंकहरु बीच ‘ब्याज युद्ध’, कुन बैंकको कति ?

केन्द्रबिन्दु
0
Shares

वाणिज्य बैंकहरुबीच यतिबेला ‘ब्याज युद्ध’ शुरु भएको छ ।  बैंकर्स संघले मंगलबार बिहान ब्याजदर बारे नयाँ निर्णय गरेपछि बैंकहरुबीच ‘ब्याज युद्ध’ शुरु भएको हो।

आफ्नो बैंकमा भएको रकम अरु बैंकले खोस्ने डरले यतिबेला बैंकहरु चिन्तित छन् । गत मंगलबारदेखि बाणिज्य बैंकहरुले मुद्दती खातामा धमाधम ब्याजदर बढाउन थालेका हुन्। मंगलबारदेखि शुरु भएको ब्याजदर बढाउने क्रम ३ दिनभित्र ५ वटा बैंकले ब्याजदर बढाएका छन् ।

निर्णय भएकै दिन (मंगलबार) नै जनता बैंकले जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर तोक्यो ।  यो ब्याजदर मासिक रुपमा प्रदान गर्ने बैंकले जनाएको छ।  बैंकको यस योजनामा ग्राहकले न्यूनतम  १ लाख रुपैया  ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सकिन्छ  । जनता बैंकले मुद्दतीको मात्रै होइन सम्पूर्ण बचत खाताको ब्याजदर समेत वृद्धि गरेर बार्षिक ७% कायम गरेको छ ।

निर्णयको भोलिपल्ट (बुधबार) माछापुच्छ्रे बैंकले पनि ब्याज बढाएको सूचना जारी गर्यो ।  बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ।

आज बिहिबार थप ३  बैंकले नयाँ ब्याजदर सार्बजनिक गरेका छन् । जस अनुसार मेगा बैंकले न्युनतम १ लाखको व्यक्तिगत मुद्दती निक्षेपमा  १२.५० ब्याज दिने भएको छ।  प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३ प्रतिशतसम्म पुग्ने पक्का भएको छ ।  त्यो भन्दा कमको बचतमा भने बैंकले १० प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै संस्थागत क्षिक्षेपकर्तालाई ९ प्रतिशत ब्याजदर सार्बजनिक गरेको छ ।

त्यस्तै कुमारी बैंकले पनि न्यूनतंम मौज्दात रु १० हजारमा व्यक्तिगत निक्षेपकर्ताको लागि १३ प्रतिशत ब्याज घोषणा गरेको छ । प्रकाशित ब्याजमा थप आधाप्रतिशतसम्म ब्याजदर बढी दिन सकिने भएकोले बैंकको ब्याज १३.५० प्रतिशतसम्म पुग्ने पक्का छ ।

बैंक अफ काठमाडौँले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत नयाँ ब्याजदर कायम गरेको छ ।

‘ब्याज युद्ध’ मा अहिलेसम्म अधिकतम ब्याजदर साढे १३ प्रतिशत पुगेको देखिन्छ। यस अघि मुद्दतिमा बढीमा साढे १० प्रतिशतसम्म ब्याजदर तोक्न पाउने ब्यबस्था थियो ।  किनकी बैंकहरुमा यतिबेला लगानी योग्य रकमको अभाव छ   ।  तथापि अब अन्य वाणिज्य बैंकहरुले पनि ब्याजदर बढाउने निश्चित छ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुसँग गरि कुल २९ खर्ब रुपैयाँ निक्षेप छ। यसमध्ये ब्यक्तिगत निक्षेप १५ खर्ब ९५ अर्ब रुपैयाँ छ। अहिले कुल निक्षेपको ४५ प्रतिशत मुद्दति खातामा पैसा छ।

यसै बीच बाणिज्य बैंकहरु धमाधम ब्याजदर बढाएपछि बिकासहरुलाई आफ्नो निक्षेप खोस्ने चिन्ता छाएको छ । त्यसकारण विकास बैंकहरु पनि ब्याजदर बढाउनतिर लागेका छन् ।

ब्याज युद्धले निक्षेपकर्तालाई फाइदा हुने भए पनि ऋणीहरु भने ठूलो मारमा पर्ने भएको छ । विश्लेषकहरुका अनुसार अब ऋणको ब्याज १६ प्रतिशत नाघ्ने आंकलन गरिएको छ।

Logo