जोशी हाइड्रोपावरको आइपीओ सबैले पाउने !

जोशी हाइड्रोपावरको आइपीओ सबैले पाउने !

केन्द्रबिन्दु
0
Shares

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि निष्काशन गरेको साधारण शेयर भर्ने समय सकिएको छ । अन्तिम दिन बुधबारसम्म ८२ हजार ६६५ जनाले ५९ लाख १२ हजार ६५० कित्ताको लागि आवेदन परेको छ ।  यो कम्पनीले मागेको भन्दा करिव २.८१ गुणा बढी हो ।  बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले तथ्यांक भेरिफाइ भैरहेकाले यसमा केही घटबढ हुन् सक्ने जनाएको छ ।

कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो। हिसाबले हेर्दा केही आवेदकले न्युनतम २० कित्ता पाउने सम्भावना देखिन्छ । तर न्युनतम १० कित्ता भने सबै आवेदकले पाउने निश्चित छ ।

निष्काशन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रहेको छ ।

चौतारी लघुवित्तमा अत्यधिक आवेदन

चौतारी लघुवित्तले निष्काशन गरेको आईपिओमा लगानीकर्ताको निकै आकर्षण देखिएको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलका  अनुसार पहिलो दिन ६७ हजार ५ सय आवेदकबाट ४१ लाख ८१ हजार कित्ताको लागि आवेदन परेको छ  ।  यो कुल निष्काशनको झन्डै ७ गुणा बढी हो  ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।  चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ ।

Logo