२ वटा कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन

२ वटा कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

दुई वटा कम्पनीले जारी गरेको साधारण शेयर भर्ने आज अन्तिम दिन हो । दुवै कम्पनीमा लगानीकर्ताहरुको उल्लेख्य आकर्षण देखिएको छ।  

मङ्सिर २ गतेदेखि आइपीओ जारी गरेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओमा आवेदन दिने आज (मङ्सिर ५) गते अन्तिम दिन रहेको छ । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गरेको थियो । लगानीकर्ताले न्यूनतंम ५० कित्ता र अधिकतम १५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले ४ प्रतिशत अर्थात् १२ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । लगानीकर्ताले आश्वा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

आईपिओमा पहिलो ३ दिनमा अत्यधिक आवेदन परेको छ । तेस्रो दिन बेलुका ५ बजेसम्मको तथ्यांक अनुसार आईपिओमा १ लाख ७९ हजार १ सय २१ आवेदकले १ करोड १६ लाख २६ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएको बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ ।  यो माग भन्दा ४२.५८ गुणा बढीको आवेदन हो ।  

त्यस्तै हिमालय उर्जा विकास कम्पनीले स्थानीयको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक ६ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीक लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो  । कम्पनीले अति प्रभावित गोकुल गंगा गाउँपालिका वडा नम्बर १ तथा जिरी नगरपालिका वडा नम्बर १ र २ लाई ४० प्रतिशत, र अन्य प्रभावितलाई ६० प्रतिशत शेयर निष्काशन गरेको हो  । 

लगानीकर्ता न्यूनतंम ५० कित्ता र अधिकतम ४९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट क्यापिटल रहेको छ । कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Logo