काठमाडौँ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । "/>

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट : नेपालमा भने घटेन

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट : नेपालमा भने घटेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिना अघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिना अघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो । एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ भारु र डिजेल ४.१३ भारु सस्तिएको हो ।

आयल निगमले तेल खरिद गर्दै आएको भारतीय आयल कर्पोरेसन (आइओसी) ले एक महिना यता हरेक दिन तेलको मूल्य घटाएको छ । यसरी भारतीय बजारमा एक महिनामा २८ दिनसम्म लगातार मूल्य घटेको छ । आइतबार पेट्रोल २० पैसा र डिजेल १८ पैसा भारु प्रतिलिटर घटाएको छ ।

आइओसीले हाल दिल्लीमा पेट्रोल ७६.७१ भारु र डिजेल ७१.५६ भारु प्रतिलिटर मूल्य निर्धारण गरेको छ । एक महिना अघि दिल्लीमा पेट्रोल ८२.८३ भारु र डिजेल ७५.६९ भारु प्रतिलिटर थियो ।

आइओसीले नेपाल पठाउने तेलको मूल्य पनि घटाएको छ । निगमले १५ कात्तिक ( १ नोभेम्बर ) मा पेट्रोल ६७.९३ रुपैयाँ र डिजेल ७८.०२ रुपैयाँ प्रतिलिटरमा रक्सौल नाकामा खरिद गरेको थियो । ३० कात्तिकमा पेट्रोल ६१.१५ रुपैयाँ र डिजेल ७२.९६ रुपैयाँमा खरिद गरेको छ । यसरी १५ दिनमा पेट्रोल ६.७८ रुपैयाँ र डिजेल ५.०६ रुपैयाँ सस्तोमा निगमले खरिद गरेको छ ।

निगमले आइओसीबाटै तेल किन्ने भएकाले भारतमा मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव पर्छ । एक महिनामा आइओसीले दुईपटक मूल्य घटाएर पठाइसकेको छ । तर निगमले मूल्य समायोजन गरेको छैन ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अहिले मासिक १५ अर्ब रुपैयाँको इन्धन आयात भइरहेको छ । पछिल्लो समय आइओसीले खरिद दर घटाएर पठाए पनि निगमको घाटा पूर्ति नभएको उनको भनाइ छ । ‘अहिले घटेको मूल्यले पनि हामीलाई राहत त दिएको छ, तर घाटा पूर्ति हुन सकेको छैन, हामीले तेल खरिदको पैसा तिर्न नै यसपटक धेरै मुस्किल भयो,’ उनले भने ।
नयाँ पत्रिकाबाट

Logo