बहुप्रतिक्षित तामाकोशीको आइपीओ खुल्ला, सबैले भर्न नपाइने !

बहुप्रतिक्षित तामाकोशीको आइपीओ खुल्ला, सबैले भर्न नपाइने !

केन्द्रबिन्दु
0
Shares

नेपालको पुंजीबजारमा सबैभन्दा ठूलो आईपिओ मानिएको बहुप्रतिक्षित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारण शेयर  निष्काशन भएको । कम्पनीले आज कार्तिक १५ गतेदेखि शेयर बिक्रि खुला गरेको हो । 

कम्पनीले यस अघि स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेकोमा आजबाट सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन बिक्रि खुला गरेको हो ।    

कम्पनीको आईपिओमा न्यूनतंम ५० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  ।  आईपिओमा छिटोमा कार्तिक १९ गतेसम्म र त्यस अवधिमा माग अनुसारको आवेदन नपरेको खण्डमा मात्र ढिलोमा मङ्सिर १४ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  आईपिओ निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक र सनराइज क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन्  । 

सीआश्वा सदस्य रहेका बनक तथा वित्तीय संस्थाबाट र मेरो शेयर मार्फत अनलाइनबाट मात्र आवेदन दिन पाइने छ ।  आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने छन् ।

यस आईपिओमा सबै नेपाली नागरिकले आवेदन दिन सक्ने छन्  ।  तर यस अघि नै कम्पनीको शेयर खरिद गरेकाले भने आईपिओ भर्न पाउने छैनन्  ।  स्थानीयलाई शेयर जारी गर्दा शेयर खरिद गरेका आयोजना प्रभावित दोलखावासीले यसमा आवेदन दिन पाउने छैनन् । तर त्यस समय शेयर खरिद नगरेका स्थानीयले भने आवेदन दिन पाउने छन् । त्यस्तै कर्मचारी वा संस्थापकको रुपमा वा अन्य कुनै प्रकारबाट प्रारम्भिक सार्बजनिक निष्काशन हुनु पर्व कम्पनीको शेयर प्राप्त गरेको शेयरधनीले पनि यसमा आवेदन दिन पाउने छैन । संस्थापक शेयरधनी तथा उसको परिवारको सदस्यलाई समेत यसमा आवेदन दिन बन्देज गरिएको छ । यदि आवेदन दिन बन्देज लगाईएका यी व्यक्तिले आवेदन दिएमा त्यस्तो आवेदनलाई बाँडफांड प्रक्रियामा समाबेश नगराइने कानुनी ब्यबस्था छ ।

आयोजनाको अबस्था 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। इक्रा नेपालले आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ ।

लागत दोब्बर 

स्वदेशी लगानीमा निर्माण हुन् लागेको  माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत दोब्बर पुग्ने भएको छ ।

सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने भनिएको आयोजनाको लागत अहिले बढेर करिव ७० अर्ब पुग्ने देखिएको हो । आयोजना निर्माण सम्पन्न हुने अवस्था सम्म व्याज समेत जोड्दा करिव ६९ अर्ब लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै आयोजना निर्माणको अवधि समेत चार वर्ष पछाडि धकेलिएको छ । २०६७ साल देखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको आयोजनाको २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य थियो ।

Logo