काठमाडौं

चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारी लगायतको मूल्य अचाक्ली बढेको छ । "/>

चाडपर्वको मुखमा देशैभरि महँगीको मार : नियन्त्रणमा सरकारको असफलता

चाडपर्वको मुखमा देशैभरि महँगीको मार : नियन्त्रणमा सरकारको असफलता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारी लगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्ने संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।

खाने तेल र मैदा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ । इन्धन मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ । उपभोक्ता अधिकारकर्मी भने सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा बजारमा मनपरीतन्त्र मौलाएर उपभोक्ता ठगिएको बताउँछन् ।

राजधानीमा तोरी र भटमासको तेल लिटरमा १०–१० रुपैयाँ महँगिएको छ । सूर्यमुखी लिटरमा १५ रुपैयाँ बढेको छ । त्यसैगरी मैदा १० रुपैयाँ महँगिएको छ भने ५९ रुपैयाँसम्म ओर्लेको चिनीको भाउ ८५ रुपैयाँ पुगेपछि संसद्को सार्वजनिक लेखा समितिले तत्काल मूल्य घटाउन निर्देशन दिएको छ ।

व्यवसायी भने डलर मूल्यका कारण खाने तेलको कच्चा पदार्थ महँगिएकाले मूल्यवृद्धि भएको बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर दैनिक उपभोग्य वस्तुको मूल्यमा परेको छ । ‘इन्धन महँगिएपछि ढुवानी भाडा बढ्यो, त्यसको असर बजारमा पर्यो,’ श्रेष्ठले भने । मैदाको भाउ बढेपछि पाउरोटीको मूल्य पनि बढेको छ ।

तरकारीको भाउ पोहोरको तुलनामा शतप्रतिशत बढेको छ । तिते करेलाको भाउ एक सय ७१ प्रतिशत बढेर ३५ रुपैयाँ किलोबाट ९५ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । गत वर्ष असोज १९ गते ६५ रुपैयाँ किलोमा किनबेच भएको स्थानीय काउलीको मूल्य यस वर्ष असोज १९ गते एक सय १५ रुपैयाँ थियो । गोलभेडाको मूल्य ६६ प्रतिशतले बढेको छ । गत वर्ष ४५ रुपैयाँमा बिक्री भएको गोलभेडा यो वर्ष ५५ रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ रहेकोमा ५१ प्रतिशत बढेर ६८ रुपैयाँ किलो पुगेको छ । घिरौंला ४५ बाट ५५ रुपैयाँ किलो पुगेको छ । रायो साग ९० प्रतिशत बढेर ५५ बाट एक सय पाँच रुपैयाँ पुगेको छ ।

यता चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च पनि आकासिएको छ । ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् ।

विराटनगर, इटहरी, दमक, इलाम लगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ । चामल, तेल, दाल, चिनी तथा तरकारी जस्ता अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारण महँगीको चेपुवामा परेका हुन् ।

चाडबाड नजिकिँदै जाँदा विराटनगरमा बजार मूल्य अकासिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ सबैभन्दा ज्यादा बढेको छ । यस्तै लत्ताकपडा, जुत्ताचप्पल लगायत वस्तुको मूल्य पनि बढेको छ । ‘हरेक वस्तुको मूल्य बढेको छ’, विराटनगर–४ की मन्जु कार्कीले भनिन्, ‘दाल, चामल, तेल, तरकारी सबै चिजको मूल्य अकासिएको छ ।’ सीमित आम्दानी भएका सर्वसाधारणलाई चाडबाड मान्न गाह्रो हुन थालेको उनले गुनासो गरिन् । ‘व्यापारीले मनपरी मूल्य बढाएर उपभोक्ताको ढाड सेके पनि नियमनकारी निकायले चासो नदेखाउँदा समस्या भएको छ,’ उनले भनिन् ।

विराटनगरमा चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको छ । भाटभटेनी सुपरमार्केटले सहुलियत दरमा प्रतिबिल दुई किलो चिनी ५९ रुपैयाँले दिए पनि दुई किलो भन्दा बढी लिनुपरे ६९ रुपैयाँ तिर्नुपर्छ । खुद्रा पसलेले ७५ देखि ८० रुपैयाँ सम्म लिने गरेका छन् । एक साता अघिसम्म विराटनगरमा ८५ देखि ९० रुपैयाँ सम्म पाइने मुसुरोको दाललाई अचेल सय रुपैयाँ तिर्नुपर्छ । विराटनगरका उपभोक्तालाई १० प्रतिशत छुटमा किराना सामान बिक्री गर्दै आएको भाटभटेनी सुपर मार्केटले पनि मुसुरोको दालको मूल्य ९८ रुपैयाँ प्रतिकिलोबाट बढाएर एक सय ११ रुपैयाँ पुर्याएको छ ।

खाने तेलमा पनि एक साता यता प्रतिलिटर १० रुपैयाँ मूल्य बढेको छ । विराटनगरको गुद्री बजारका व्यापारी अभिषेक मण्डलका अनुसार खाद्यान्न र तरकारीको मूल्य सबैभन्दा धेरै बढेको छ । ‘खरिदमै महंगो परेका कारण बजार महंगिएको हो’, मण्डलले भने । चाडबाड नजिकिए संगै विराटनगरमा तरकारीको मूल्य पनि बढेको छ । विराटनगरमा काउली प्रतिकिलो एक सय २० देखि एक सय ४० रुपैयाँ सम्म पर्छ । यस्तै गिनरी साग २० रुपैयाँ पाउ, आलु ६० रुपैयाँ किलो छ । अन्य तरकारी पनि उत्तिकै महंगिएको छ ।
नागरिकबाट

Logo