काठमाडौं
विश्व अटो बजारमा भविष्यका सवारीको चर्चा गर्दा विद्युतीय कारको नाम आउँछ । यतिबेला सवारी उत्पादक कम्पनीले विद्युतीय कारलाई भविष्य मानेका छन् ।
राजधानीको भृकुटीमण्डपमा मंगलबार देखि सुरु ‘नाडा अटो सो’ मा पनि यसलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ‘विद्युतीय सवारीको भविष्य राम्रो छ । अटो सोमा पनि धेरै कम्पनीले प्राथमिकता दिएका छन्,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘अबको भविष्य विद्युतीय सवारी नै हो ।’ नाडाका अनुसार किया, रेनो, टाटा, हुन्डाईले कन्सेप्ट, फयुचर कार प्रदर्शन गरेका छन् ।
जापानी र चिनियाँ कम्पनीका विद्युतीय स्कुटर पनि मुख्य आकर्षणका रूपमा रहेका छन् । अधिकांश अवलोकनकर्ता यही फयुचर कार र विद्युतीय सवारीका लागि अटो सो अवलोकन गरेको बताउँछन् । किया मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ‘सोल इभी’ विद्युतीय कार राखेको छ ।
कम्पनीका नायब महाप्रबन्धक मन्जितकुमार पोखरेलका अनुसार एक पटक पूरा चार्ज भएपछि १ सय ८० किलोमिटर गुड्ने क्षमता छ । यसमा २७ केडब्लूएचको ब्याट्री छ । उक्त ब्याट्री ३० मिनेटमै चार्ज हुन्छ । यसको पावर ९० किलोवाट छ । जसले गर्दा अवलोकनकर्ता आकर्षित भएको उनको भनाइ छ ।
‘दुई दिनको अवधिमा ३ सयले सोधपुछ गरेका छन्, ८ वटा बुकिङ भएको छ,’ उनले भने । उक्त सवारीको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी छ । ग्राहक सुविधाका लागि विभिन्न ठाउँमा चार्जिङ स्टेसन पनि राखेको पोखरेलले बताए । ‘विद्युतीय सवारीको हकमा वार्षिक कर तिर्नु पर्दैन,’ उनले भने, ‘जसले गर्दा ग्राहकले धेरै रुचाएका छन् ।’ सवारीको मूल्य पनि सस्तो भएकाले ग्राहक आकर्षित भएको उनको दाबी छ ।
विद्युतीय सवारीमा १० प्रतिशत मात्रै कर लाग्छ । अन्तःशुल्क पनि धेरै सस्तो छ । सडक मर्मत कर पनि लाग्दैन । जसले गर्दा धेरैको चासो भएको दुलालले बताए । उनीहरूका अनुसार इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय सवारी कमै बिग्रन्छ । यसमा इन्धन फिल्टर, एयर फिल्टर, मोबिल प्रयोग हुँदैन । त्यसैले मर्मतमा धेरै खर्च नहुने व्यवसायी बताउँछन् ।
नाडामा ‘रेनो जोई ४०’ विद्युतीय कार पनि सार्वजनिक गरिएको छ । कम्पनीका सौरभ कार्कीका अनुसार अधिकांश अवलोकनकर्ता इलेक्ट्रिक सवारीका लागि मात्रै आएका छन् । ‘नाडामा मुख्य क्रेज विद्युतीय सवारी नै भएको छ,’ उनले भने, ‘सर्वसाधारणले धेरै रुचाएका छन् ।’ यस कारमा ब्रेक लगाए पश्चात ब्याट्रीमा थप ऊर्जा उत्पन्न हुन्छ । कारको स्पिड प्रतिघण्टा १३५ किलोमिटर रहेको छ ।
कान्तिपुरबाट
प्रतिक्रिया