काठमाडौँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिचौलिया व्यापारीको सिन्डिकेट हटाउन अहिले दुई मन्त्रालयको सक्रियता देखिएको छ । "/>

सम्भव होला त तरकारीमा सिन्डिकेट र बिचौलियाको अन्त्य ?

सम्भव होला त तरकारीमा सिन्डिकेट र बिचौलियाको अन्त्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिचौलिया व्यापारीको सिन्डिकेट हटाउन अहिले दुई मन्त्रालयको सक्रियता देखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले तरकारी र फलफूलको व्यापारमा देखिएका बिचौलिया निर्मूल पार्ने भन्दै लागि परेका छन् । कृषिमन्त्री खनालले गत जेठमा कालीमाटी बजारको अनुगमन गरेका थिए भने उद्योगमन्त्री यादव सोमबार कालीमाटीमा व्यवसायीहरुले सरकारी अनुगमन टोलीलाई अवरोध गरेपछि स्थलगत निरीक्षण गर्न पहिलोपटक त्यहाँ पुगेका हुन् ।

कृषि मन्त्रालयले कालीमाटीमा एक वर्ष यता गरेको अध्ययनका आधारमा त्यहाँ भित्रको ‘दुर्गन्धित बिचौलिया’ लाई कारबाही गर्ने गरी आन्तरिक अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले उत्पादन गरेको ठाउँ देखि कालीमाटीसम्म आइपुग्दा कति ठाउँमा बिचौलिया लाग्छन् र कति मूल्य बढाइन्छ भनेर अध्ययन अनुगमन गरिरहेको छ ।

उद्योग मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले उपत्यका बाहिरका केही जिल्लामा गई किसानले पाउने मूल्य, मुल्य बढाउने बिचौलिया व्यापारीका विभिन्न तहको अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानलाई थप पुष्टि गर्न सोमबार विभागले कालीमाटी बजारमा अनुगमन गरेको हो ।

कालीमाटी बजार सञ्चालक समितिका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीका अनुसार कालीमाटी भित्रका ९८ वटा व्यापारीलाई कारबाही गर्ने गरी मन्त्रालयले प्रतिवेदन तयार पारेको छ । तर उक्त प्रतिवेदन व्यापारीकै दवाबका कारण सञ्चालक समितिबाट पारित हुन भने सकेको छैन ।

‘हामीले एक वर्ष अघि तयार पारेको प्रतिवेदन समितिबाट पारित हुन नसकेपछि मन्त्रालय पठायौं । दोस्रो प्रतिवेदन पनि दुईपटक सञ्चालक समितिमा छलफलका लागि पठाइसकेका छौं । तर पारित भने हुन सकेको छैन’ –कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले भने ।

यता बजारमा निकै कम मात्र तरकारी भित्रिएपछि त्यसको प्रत्यक्ष मार भने उपभोक्तामा परेको छ । सोमबारको तुलनामा मंगलबार मात्र तरकारीको खुद्रा मूल्यमा ५० प्रतिशतसम्म वृद्धि देखिएको छ । विभागले अनुगमन गरेको अघिल्लो दिन अर्थात् आइतबार ४५ रुपियाँ प्रतिकिलो रहेको गोलभेडाको खुद्रा मूल्य मंगलबार बढेर ७० रुपियाँसम्म पुगेको छ । त्यसै गरी आलु, प्याज, फर्सी, बोडी, काउली, हरियो साग, हरियो धनियाँमा मूल्यवृद्धिको असर देखिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo