नेपालगन्ज

एउटा गाईले कति लिटर सम्म दूध दिन्छ ? पाँच लिटर वा १० लिटर । तर बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटर सम्म दूध दिन्छ । "/>

एउटै गाईबाट सवा पाँच लाख आम्दानी !

एउटै गाईबाट सवा पाँच लाख आम्दानी !

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

एउटा गाईले कति लिटर सम्म दूध दिन्छ ? पाँच लिटर वा १० लिटर । तर बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटर सम्म दूध दिन्छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

१६ वैशाख २०७३ मा पहिलो बेत ब्याएको यो गाइले आठ महिनामा चार हजार चार सय १० लिटर दूध दियो । २१ वैशाख २०७४ मा दोस्रो बेत ब्याएपछि पाँच हजार दुई सय ८० लिटर दूध दिएको फार्म सञ्चालक शारदा शर्माले बताइन् । ‘पहिलो बेतको सुरुका चार महिना दैनिक २२ लिटरका दरले दूध दियो । त्यसपछिका तीन महिना १७ लिटर र अन्तिम एक महिनामा आठ लिटरका दरले दूध दिएको थियो’, सञ्चालक शर्माले भनिन्, ‘दोस्रो बेतमा त चमत्कार नै भयो । सुरुका चार महिना दैनिक २८ लिटरका दरले दूध दियो । त्यसपछिका तीन महिना १८ लिटर र अन्तिम एक महिना १० लिटरका दरले दूध दियो ।’

गाईले वर्षभरि दूध दिने भए पनि क्रमशः दूधको मात्रा घटाउँदै लैजानु पर्ने उनी बताउँछिन् । ‘बाह्रै महिना दूध दुहुनु हुन्न । क्रमशः दूधको मात्रा घटाउँदै घटाउँदै आठ महिना मात्र दुहुनु पर्छ’, उनले भनिन् । गौथली अहिले फेरि गर्भिणी भएकी छे । हरेक वर्ष वैशाखमा ब्याउँछे ।

साबिक जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डा. वेदबहादुर केसी जिल्लामा धेरै दूध दिने गाई गौथली नै भएको बताउँछन् । ‘विगतमा पशु मेला प्रदर्शनी हुन्थ्यो । धेरै दूध दिने गाईभैंसी पुरस्कृत हुन्थे । अब प्रदर्शनी हटेको छ । अहिले सम्म २८ लिटर दूध दिने अर्को गाई मैले भेटेको छैन’, उनले भने । फार्म सञ्चालक शर्मा त जिल्लाको मात्र होइन, मध्यपश्चिममै सबैभन्दा धेरै दूध दिने गाई भएको दाबी गर्दै भन्छिन्, ‘मध्यपश्चिममा २८ लिटर दूध दिने अर्को गाई छैन । गौथली मात्र हो । तर पोखरामा मैले ४० लिटर दूध दिने गाई पनि देखेकी थिएँ ।’ यो गाई किन्न कति आए, आए । ‘एक लाख ९० हजार रुपैयाँसम्म मोल गरे । मैले बेचिन्’, उनले भनिन् ।
अन्नपूर्णबाट

Logo