बैठक चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने

बैठक चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले चालु आर्थिक वर्षमा करिब ५ प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले चालु आर्थिक वर्षमा ५ प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताएका हुन् ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थ मन्त्रालयका सचिव ढुंगानाले यस्तो बताएका हुन् । यो आर्थिक वर्षको ६ महिनामा आर्थिक गतिविधि विस्तारित हुँदै गएको र राजस्व संकलनको स्थिति पनि गतवर्षकै लयमा फर्किएकाले अबको आर्थिक वृद्धिदर करिब ५ प्रतिशत हुन सक्ने देखिएको बताए ।

सरकारले यसवर्षको बजेट मार्फत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो । आर्थिक वृद्धिमा आएको कमिका कारण गरिबी निवारणमा सरकारले राखेको लक्ष्य भने प्रभावित हुने देखिएको छ । १२ लाखभन्दा बढी घरपरिवार गरिबीको रेखामुनी पर्न सक्ने सम्भावना अर्थ मन्त्रालयले गरेको अध्ययनमा देखिएको पनि सचिव ढुंगानाले बताए। आर्थिक गतिविधि कमजोर भएको अवस्थामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा असर पर्ने देखिएको उनको भनाइ छ । यसबाहेक मानिसको जीवनस्तर केही महँगो हुन सक्ने सम्भावना रहेको पनि बताए।

दीगो विकासको लक्ष्य प्राप्तिका लागि रोजगारी सिर्जना हुने गरी उद्योग मन्त्रालय, गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र साना किसान लघुवित्तमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिराखेको सचिव ढुंगानाले बताए । यस्तै सहुलियतपूर्ण कर्जालाई बैंकका प्रत्येक शाखाबाट परिचालन गर्ने व्यवस्था मिलाइएको पनि बताए । कोभिड–१९ बाट प्रभावित क्षेत्रमा ७७ अर्ब भन्दा बढी पुनर्कर्जा परिचालन भइसकेको समेत बताए।

यसबाट विस्तारै सबै क्षेत्र पुरानै लयमा फर्किने पनि बताए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोभिड अगाडि गरिबी निवारणको सन्दर्भमा ठिक दिशामा काम रहेको तर कोभिडका कारण असर परेको बताए। १५ औं योजनामा बहुआयामिक गरिबी ३८ दशमलव ६ बाट ११ दशमलव ५ मा झार्ने र मौद्रिक गरिबी १८ दशमलव ६ बाट ९ दशमलव ५ मा झार्ने लक्ष्य लिएको तर अहिले प्रभावित भएको बताए।

कृषि र शिक्षा क्षेत्रमा लक्ष्य अनुसार प्रगति हुन नसके पनि स्वास्थ्य क्षेत्रमा धेरै नै सुधार भएको बताए । यस्तै कोभिडको असर विस्तारै सामान्य अवस्था तर्फ फर्केकाले यस वर्ष करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हुन सक्ने देखिएको उपाध्यक्ष कँडेलले बताए । उत्पादनमुलक उद्योगतर्फ अझै असर परिरहेकोले आर्थिक वृद्धिदर प्रभावित हुने देखिएको उनको भनाइ छ ।

बैठकमा राष्ट्रिय सभा सदस्यहरुले देशमा गरिबी बेरोजगार र भ्रष्ट्राचार बढ्दै गएका कारण दीगो विकासका लक्ष्यहरु प्राप्त हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले कोभिडको असरसँगसँगै गरिबी, बेरोजगारी र भ्रष्ट्राचार एकैसाथ बढ्दै गएको बताए। नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले दिगो विकासको लक्ष्यमा पुग्ने भनिएपनि सरकारले सोही अनुसारको काम गर्न नसकेको बताए । दिगो विकासको लक्ष्यसम्म पुग्ने योजना सरकारसँग नरहेको पनि बताए ।

आफ्नो जिल्लामा मात्रै बजेट केन्द्रीत गर्ने मन्त्रीहरुको प्रवृतिले दिगो विकास लक्ष्यमा पुग्न नसकिने पनि राष्ट्रिय सभा सदस्यहरुले बताएका छन् । यस्तै स्थानीय जनप्रतिनिधिहरुले पनि प्रत्येक विकास निर्माणका कामको ठेक्का आफैं लिने भएकाले विकासका काम प्रभावित भएको उनीहरुको भनाइ छ ।

Logo