नेपालगन्ज
सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरिसक्यो । "/>

सिक्टा सिँचाइ आयोजना : बर्सेनि अर्बौं लगानी, प्रतिफल भने निराशाजनक

सिक्टा सिँचाइ आयोजना : बर्सेनि अर्बौं लगानी, प्रतिफल भने निराशाजनक

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज
सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरिसक्यो ।

२०६३ सालबाट बाँकेमा निर्माण कार्य सुरु भएको आयोजना द्रुत गतिले अघि बढेको भए, दुई वर्ष अघि नै किसानको खेतबारीमा सिँचाइ सुविधा पुग्थ्यो । सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्ति सिक्टामा लामो समय सम्म रह्यो । यसले गर्दा सिक्टाले लक्ष्य अनुसार प्रतिफल प्राप्त गर्न सकेको छैन ।

राष्ट्रिय गौरवको यो आयोजनालाई सबै पक्षबाट निर्माण सुरु नगर्दा समयमा आयोजना सम्पन्न हुन नसकेको हो । हेड वक्स, मूल नहरसँगै शाखा र प्रशाखा नहरहरु र पानी बढी हुँदा फ्याँक्ने नहरहरुको निर्माण एक साथ सुरु गरेको भए अहिले सम्म किसानका खेत–खेतमा सिँचाइ पुग्ने थियो । आयोजनाको जिम्मा लिएका अधिकारीले सिँचाइको हेडवक्र्स र मूल नहर बन्दा समेत शाखा र प्रशाखा नहर बनाउन सुरु गरेका छैनन् । सरकारी अधिकारीको यो लापरबाहीले किसानले सिँचाइ नपाएका मात्र होइनन् सरकारको लगानी पनि बढिरहेको छ ।

२०६३ सालमा निर्माण सुरु भएको आयोजनाको ४२.२५० किलोमिटर पश्चिम (दायाँ) मूल नहर मार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किमी पूर्वी (बायाँ) मूल नहर मार्फत राप्तीपारिको कुल नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ । सुरुको लक्ष्य अनुसार झन्डै १२ अर्ब रुपैयाँ लागतमा आयोजना सम्पन्न हुने अनुमान थियो ।

तर दोस्रो गुरुयोजना मार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आर्थिक वर्ष ०७६,७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सक्ने अठोट लिएको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ । आयोजना सम्पन्न हुने समय आउन करिब एक वर्ष बाँकी रहँदा सिक्टाको काम करिब ६० प्रतिशत मात्रै सम्पन्न भएको कार्यालयले जनाएको छ । सिक्टामा लागेको लगानी करिब १५ अर्ब पुगिसक्दा पनि अहिलेसम्म प्रतिफल प्राप्त भएको छैन । आयोजना कार्यालय मूल नहर निर्माणको काममै अल्झिरहेको छ । आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम अन्योलमा छ ।

राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगीले सिक्टाबाट अहिले सम्म प्रतिफल आउन नसक्नुको मुख्य दोषी राजनीतिक दल, सिँचार्इ मन्त्रालय र विभागका ठूला कर्मचारी भएको बताए । ‘सरकार फेरिने बित्तिकै मन्त्रीले आयोजना निर्देशक फेर्ने प्रवृत्ति सिक्टामा छ,’ उनले भने ‘ठेकेदार र माथिका कर्मचारीले आयोजनालाई आफ्नो अनुकूल लम्ब्याउने काम गरेका कारण किसानको खेतमा पानी पुग्न सकेन ।’ सिक्टामा चाइना कम्पनीले निर्माण गरेको हेड वर्क्समा मात्र गुणस्तरिय काम भएको डाँगीले बताए ।
नागरिकबाट

Logo