काठमाडौं

पछिल्ला केहि महिना यता शेयर बजार निरन्तर ओरालो लागेको छ । अझ नयाँ सरकार बने पछि त नेपालको पूँजीबजारले अपेक्षित फड्को मार्ने नागरिकले आशा गरेका थिए । "/>

शेयर बजारको समस्या समाधान गर्न सरकारद्वारा समिति गठन

शेयर बजारको समस्या समाधान गर्न सरकारद्वारा समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पछिल्ला केहि महिना यता शेयर बजार निरन्तर ओरालो लागेको छ । अझ नयाँ सरकार बने पछि त नेपालको पूँजीबजारले अपेक्षित फड्को मार्ने नागरिकले आशा गरेका थिए । तर सोचे अनुशार हुन सकेन । जसका कारण मंगलबार इतिहासमै पहिलो पटक शेयर बजार कारोबार ठप्प भयो । हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि म‌ंगलबार शेयर कारोवार प्रभावित भएको हो ।

मंगलबार लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक एक्स्चेन्जमा कुनै पनि कारोवार हुन सकेन । सरकारले शेयर कारोवारमा सोमबार देखि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । लगानीकर्ताले स्टकको कार्यालयमा पुगेर विरोध जनाएका थिए । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले कारोवारमा केही समस्या आएको बताए । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाए ।

सरकारले बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यसअघि ५.५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । लगानीकर्ताले म‌ंगलबारै अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गरेका छन् ।

यता सरकारले पूँजीबजारमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ । पूँजीगत लाभकरको विषयलाई लिएर शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले मंगलबार वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । समितिलाई १५ दिन भित्र शेयर बजारको समग्र समस्या समाधानका लागि कार्ययोजना सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले पूँजीबजारमा देखिएको समग्र समस्या समाधान गर्ने लक्ष्यसहित समिति गठन गरिएको जानकारी दिए ।

शेयर लगानीकर्ताहरु भने सरकारले पूँजीगत लाभकर बढाएको भन्दै सोमबार देखि आन्दोलनरत छन् । लगानीकर्ताको अवरोधका कारण म‌ंगलबार नेपाल स्टक एक्चेन्जमा कुनै पनि कारोबार नभएपछि अर्थमन्त्रालयले समिति गठन गरेको हो । यहि अवस्था रहे आज बुधबार पनि मंगलबारकै अवस्था दोहोरिने सम्भावना छ । समस्या समाधानका लागि सरकारले शिघ्र पहल गरोस् भन्ने लगानीकर्ताहरुको माग छ ।

Logo