मलेसियाको एयर एसिया एक्सको उडान सोमबारबाट बन्द हुँदै

मलेसियाको एयर एसिया एक्सको उडान सोमबारबाट बन्द हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको एयर एसिया एक्सको उडान सोमबारदेखि रोक्ने भएको छ । उक्त एयरलाइन्सले २३ करोड रुपैयाँ हाराहारी बक्यौता नतिरेका कारण विमानस्थलले उडान रोक्ने भएको हो । एयर एसिया एक्सले मलेसियाबाट सीधा उडान भर्दै आएको छ ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार उक्त एयरलाइन्सले अवतरण (ल्यान्डिङ), पार्किङ (बिसान), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडालगायतमा उक्त बक्यौता तिर्नुपर्नेछ ।

यो बक्यौता तीन वर्षयताको हो । ‘हामीले पुस २३ गते (आइतबार) सम्मको म्याद दिएका छौं,’ उपाध्यायले भने, ‘आइतबारसम्म सबै रकम दाखिला नगरे उडान रोकिदिनेछौं ।’ त्यस्तो अवस्थामा उडान नगर्न सचेत गराउने, जहाज आइहाले यताबाट नफर्काउने विमानस्थलले जनाएको छ । ‘रकम नपाएसम्म जहाज काठमाडौंमै रोकिदिनेछौं,’ उनले  भने ।

एयर एसिया एक्सले एयरबसको वाइडबडी विमानबाट सातामा चार उडानभर्दै आएको छ । ‘हाम्रो उद्देश्य कुनै पनि एयरलाइन्सलाई रोक्ने होइन । न त रोकेर पैसा असुल नै हुन्छ । तर, यतिबेला हामी रोक्नुपर्ने अवस्थामा पुग्यौं,’ उपाध्यायले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै तिर्न बाँकी विदेशी एयरलाइन्समा एयर एसिया एक्स नै हो । सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको यस एयरलाइन्सको नेपाली जेनरल सेल्स एजेन्ट (जीएसए) लाजिम्पाटमा रहेको इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्स प्रालि हो ।

विमानस्थल प्रशासन र उसको तालुक निकाय बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणले धेरैपटक इन्सेन्टिभका कार्यकारी अध्यक्ष हरिमान लामालाई लिखितमै ताकेता गरिसकेको जनाएका छन् । त्यस्तै, आन्तरिक उडानमा सिम्रिक एयरलाइन्स र सौर्य एयरलाइन्सले पनि डेढ/डेढ करोड हाराहारी ल्यान्डिङ, पार्किङ, एयर नेभिगेसन, कोठा बहाललगायत सेवाको शुल्क तिर्न बाँकी छ । तिनलाई पनि तिर्न आइतबारकै म्याद दिइएको उपाध्यायले बताए । कान्तिपुर 

Logo