सरकारी ढुकुटीमा २२९ अर्ब मौज्दात, मूल्य वृद्धि २.७ % मात्र

सरकारी ढुकुटीमा २२९ अर्ब मौज्दात, मूल्य वृद्धि २.७ % मात्र

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ असोज ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारी ढुकुटीमा २२८ अर्ब ९४ करोड रुपैयाँ मौज्दात रहेको छ । सरकारले समयमा खर्च गर्न नसक्दा ढुकुटीमा जम्मा हुने रकम बढेको हो ।

यो रकम आगामी महिनामा अझै बढ्ने देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बुझाउनु पर्ने करले आगामी दिनमा यो सञ्चिती अझै बढ्ने भएको हो । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकाले २०७४ साउन मसान्तसम्ममा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा २२८ अर्ब ९४ करोड नगद मौज्दात कायम रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सो अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ११.५ प्रतिशतले वृद्धि भई ४५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा राजस्व संकलन ३६ प्रतिशतले वृद्धि भई ४१ अर्ब ७ करोड पुगेको थियो । समीक्षा महिनामा राजस्व संकलन लक्ष्यभन्दा कम रहेको छ ।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १८ अर्ब ५७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ । गत आवको साउन महिनामा यस्तो खर्च २ अर्ब ३१ करोड पुगेको थियो ।

मूल्य वृद्धि २.३ प्रतिशत
चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मुद्रास्फिति २.३ प्रतिशतमा झरेको छ । यो मूल्य वृद्धि गत आर्थिक वर्षको अन्तिम महिनाको भन्दा कम हो । २०७४ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति २.७ प्रतिशत रहेको थियो । तर, गत आर्थिक वर्षको पहिलो महिना साउनमा मुद्रास्फिति ८.६ प्रतिशत रहेको थियो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फिति हिमालमा ५.६ प्रतिशत, तराईमा २.८ प्रतिशत, पहाडमा २.२ प्रतिशत र काठमाडौं उपत्यकामा १.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.१ प्रतिशत, तराईमा ८.५ प्रतिशत, पहाडमा १०.९ प्रतिशत र काठमाडौं उपत्यकामा ७ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले बढ्यो
चालु आवको पहिलो महिनामा विप्रेषण आप्रवाह ७ प्रतिशतले वृद्धि भई ५५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा २.५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४.९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २.५ प्रतिशतले घटेको थियो ।

तरलता व्यवस्थापन
आर्थिक वर्ष २०७४-७५ को पहिलो महिनामा केन्द्रीय बैंकले ७३ अर्ब ५० करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोल मार्फत् २७ अर्ब ७५ करोड, रिभर्स रिपोमार्फत (टर्नओभरको आधारमा) ४५ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोल मार्फत ५ अर्ब र रिभर्स रिपोमार्फत २७ अर्ब ४५ करोड गरी कुल ३२ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो ।

ब्याजदर बढ्यो
२०७३ साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ०.४४ प्रतिशत रहेकोमा २०७४ साउनमा ०.५५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ साउनको ०.८२ प्रतिशतको तुलनामा २०७४ साउनमा ०.२९ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर वृद्धि भई २०७३ साउनको ३.१६ प्रतिशतको तुलनामा २०७४ साउनमा ३.५६ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ साउनको ६.१ प्रतिशतको तुलनामा २०७४ साउनमा ९.७ प्रतिशत कायम हुन आएको छ ।

Logo