यो बर्ष सर्वाधिक पर्यटक आउने अनुमान

यो बर्ष सर्वाधिक पर्यटक आउने अनुमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९ भदौ । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् ।

होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए ।

होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा ९ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताए । । जुन अहिलेसम्मकै बढी हो । सन् २०१२ मा ८ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । यसमा पनि सबैभन्दा बढी भारतका पर्यटक छन् । नेपालमा चाडपर्व शुरु भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली, कूटनीतिक तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्ति नेपाल भ्रमणमा आउने हुँदा पर्यटकको संख्या वृद्धि हुने अनुमान छ । दशैँ तिहारमा वर्षेनी धेरै नेपाली आउने गर्छन् ।

आगामी सेप्टेम्बर ११ मा काठमाडौँमा गैरआवासीय नेपाली सङ्घको ‘ग्लोवल मिटिङ’ भएकाले धेरै पर्यटक आउने महासचिव शाह बताउछन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१७ को पहिलो ६ महिना र त्यसपछिको अवधिमा विभिन्न मुलुकबाट झण्डै ६ लाख पर्यटक नेपाल आएका छन् । ६ महिनाको मात्रै विवरण हेर्दा ४ लाख ६० हजार ३ सय ४ पर्यटक आएका छन् । सन् २०१६ को ६ महिनाको अवधिमा ३ लाख ५९ हजार ६ ुय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

दुई छिमेकी मुलुक भारत र चीनको तुलना गर्दा सन् २०१७ को ६ महिनाको अवधिमा भारतबाट मात्रै ९३ हजार पर्यटक भित्रिएका छन् जबकि सन् २०१६ को सोही अवधिमा ६४ हजार मात्र भारतीय पर्यटक आएका थिए । त्यस्तै चीनबाट सन् २०१७ को ६ महिनामा ५४ हजार पर्यटक आएका छन् सन् २०१६ को सोही अवधिमा ३९ हजारको हाराहारीमा चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१७ को ६ महिनामा अमेरिकाबाट ४१ हजार ६ सय ९१, बेलायतबाट २७ हजार ४ सय ४४ र श्रीलंकाबाट १९ हजार ७ सय २९ पर्यटक आएका छन् । उल्लेखित विवरण हेर्दा सन् २०१७ मा पर्यटकको संख्या हालसम्मकै बढी हुने सहजै अनुमान गर्न सकिन्छ । अहिले पर्यटकीय याम र चाडपर्व पनि शुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । हानको विवरणअनुसार अहिले नेपालमा करिब ४५ हजार बेड छन् । नयाँ ४ हजार बेड थपिँदैछन् । रासस

Logo