रोजिन टर्पेन्टाइन निकासी व्यापारमा कमी

रोजिन टर्पेन्टाइन निकासी व्यापारमा कमी

केन्द्रबिन्दु
0
Shares

धनगढी, ३२ साउन ।

कैलाली भन्सार कार्यालयले पछिल्लो समय खोटो र रोजिनको निकासी व्यापारमा कमी आएको जनाएको छ । 

कार्यालयका अनुसार आव २०७३/७४ मा रु ३८ करोड ६८ लाख ३२ हजार मूल्य बराबरको ३१ लाखल ८० हजार किलो खोटो रोजिन र रु नौ करोड ८८ लाख मूल्य बराबरको आठ लाख २१ हजार ३०० किलो तार्पेन तेल निकासी भएको भन्सार अधिकृत नारायणदत्त जोशीले जानकारी दिए । 

आव २०७२/७३ मा रु ५५ करोड १८ लाख दुई हजार मूल्य बराबरको ४२ लाख ६७ हजार २०० किलो खोटो रोजिन तथा रु आठ करोड ९० लाख २४ हजार मूल्य बराबरको सात लाख ३६ हजार १६० किलो तार्पेन तेल निकासी भएको थियो । 

यस्तै आव २०७१/७२ मा रु ७२ करोड ४९ लाख २३ हजार मूल्य बराबरको ५४ लाख छ हजार किलो खोटो रोजिन र रु १२ करोड १५ लाख ७८ हजार मूल्यको १० लाख ३३ हजार ७२० किलो तार्पेन तेल निकासी भएको जोशीले बताए । 

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने १० बस्तुमध्ये खोटो र रोजिन प्रमुख हुन् । देशका अन्य क्षेत्रका भन्सार नाकामा जस्तै कैलाली भन्सार नाकाबाट पनि निकासी व्यापारको तुलनामा आयातव्यापार निकै ठूलो परिमाण र मूल्यमा हुने गरेको छ । 

कार्यालयको तथ्यांकमा आव २०६९/७० मा सो नाकाबाट कुल रु छ अर्ब ६७ करोड ५४ लाख ७९ हजार मूल्यका विभिन्न वस्तु आयात भएकामा आव २०७०/७१ मा आयात वृद्धि भई रु आठ अर्ब ३८ करोड ५९ लाख ८२ हजार १४९ का विभिन्न वस्तु आयात भएका थिए । आव २०७३/७४ मा रु छ अर्ब ८० करोड एक लाख ४५ हजार मूल्य बराबरको समान आयात भएको थियो । कैलाली भन्सार नाकाबाट आयात हुने मुख्य वस्तुमा सिमेन्ट, कोइला, जेनेरेटर, तरकारी, तोरी, चामल, गहुँ, पेट्रोलियम पदार्थ, ट््याक्टरलगायत रहेका छन् । रासस 

Logo